हुम्ला– महिनावारी हुँदा छाउगोठमा बास भन्ने त सुनेकै कुरा हो तर रातभर खुला आकाशमुनि रात बिताउनुपर्ने कुरा भने कमैले सुनेको हुनसक्छ।
हुम्लाको एउटा गाउँमा महिला महिनावारी हुँदा खुला आकाशमुनि आगोको भरमा रात बिताउने गर्छन्।
जिल्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ३ को उनापानी गाउँका महिला महिनावारी भएको बेला खुला जमिनमा आगो बालेर रात काट्दै आएका छन् । महिला पुसको चिसोमा पनि यसरी बस्नुको कारण भने सामाजिक मान्याता नै रहेको गोरखापत्र दैनिकमा छापिएको छ।
फेरुवा र छालाको ओछ्यान लगाएर कम्मल पिठ्युमा ओढेर आगो ताप्र्दै रातमा बसेकी पञ्चकला फडेरा उमेरले ४४ वर्ष पुगिन् । महिनावारी हुँदा यसरी नै किशोरी अवस्थादेखि बस्दै आएको उनी बताउँछिन्।
निद्रा नलाग्दासम्म सँगैका संगिनीहरू गफ गरेर बस्ने र निद्रा आएमा सुत्ने गरेको बताउने फडेराले यो महिलाको रहर नभएर बाध्यता भएको बताइन्।