काठमाडौं, विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलाई सुरक्षा निकायले आफूहरूको पहुँचभित्र नै रहेको दाबी गरेको छ।
हाल सिन्धुलीमा रहेका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफूहरूलाई प्राप्त भएको सुरक्षा उच्च स्रोतले जानकारी दिएको छ।
केही दिनदेखि सिन्धुलीको कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ।
उनीहरूको कदम अहिलेसम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जनाकारी दिएको छ।
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिंन्धुलीलाई बिप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ ।
सो पार्टीका प्रवक्ता समेत रहनु भएका बिश्वकर्मा अहिले दाङमा रहनु भएकाले उहांको गतिबिधिलाई समेत निगरानी गर्न समेत प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ ।
सो पार्टीको पोलिटब्युरोको बैठक बोलाएको भएपनि नेताहरु जम्मा हुन नसकेपछि बैठक समेत बस्न नसकेको निष्कर्ष सुरक्षा निकायले दावी गरेको छ । एक सुरक्षा अधिकारीले भने अन्य नेताहरुको बारेमा पनि हामी अपडेटमा नै छौं । उनीहरुले हिंसात्मक हर्कत गरे भने हामीले पनि छुट्टै रणनीति बनाएका छौ भन्दै ती सुरक्षा अधिकारीले कस्तो रणनीति भन्ने बारेमा खुलाउन चाहेनन ।
यता नेकपा माओवादी बिप्वल समुहमाथि प्रतिवन्ध लगाएपछि सरकारले उसका बिभिन्न तहका ८४ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ।