होलीमा तीन हजार सुरक्षाकर्मी परिचालित

काठमाडौं उपत्यकामा होलीमा करिब तीन हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन् । काठमाडौंमा मात्र दुई हजार प्रहरी खटिने भएका छन् । करिब ३ सयजना सादा पोसाकका प्रहरी खटिनेछन् । ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिनेछन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार होली पर्व सुरक्षाका लागि एक सय सात स्थानमा चेक पोइन्ट राखिनेछन् । ८५ वटा क्विक रेस्पोन्स टिम खटिनेछन् । २० वटा मोबाइल गाडीले गस्ती गर्नेछ । जबर्जस्ती रङ दल्ने, लोला हान्ने, अराजक गतिविधि गर्नेलाई प्रहरीले तुरुन्तै पक्राउ गर्नेछ । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी होली खेल्नेलाई पनि पक्राउ गरिनेछ।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले होली पर्वमा सुरक्षा व्यवस्था मजवुद पारिएको बताए । उनले भने, ‘होली पर्वको सुरक्षाका लागि सबै तयारी गरेका छौँ । खुलेर होली पर्व मनाउँदा हुन्छ । तर, जबर्जस्ती रङ दल्ने, लोला हान्ने, अराजक गतिविधिमा संलग्न हुनेलाई भने प्रहरीले पक्राउ गर्नेछ।’

प्रहरीका अनुसार काठमाडौंका १८ स्थानमा हुने सांस्कृतिक कार्यक्रमका लागि पनि सुरक्षाकर्मी परिचालन गरिनेछ । यसका साथै पर्यटक र सडक यात्रीलाई अनुमतिविना रङ लगाउने, पानी छ्याप्ने तथा लोला हान्ने गरेमा पनि पक्राउ गरेर अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ। नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

27408