‘डेटिङमा जान’ अपहरणको नाटक

काठमाडौं, २९ कात्तिक। महानगरीय प्रहरी अपराध महाशाखामा गत बुधबार सिनामंगलकी १४ वर्षीया निकिता अपहरणमा परेको उजुरी पर्‍यो। महाशाखाले विशेष टोली खटाएर कलडिटेलका आधारमा लोकेसन पत्ता लगाउँदा उनी सिनामंगल छेउछाउमै रहेको पाइयो।

प्रहरीले निकिताको परिवार र पढ्ने स्कुलमा बुझ्दा उनको १५ वर्षीय रोहनसँग घुलमिल रहेको पत्ता लाग्यो। प्रहरीले खोज्दै जाँदा रोहन र निकिता बिहीबार अपराह्न सिनामंगलबाटै समातिए। प्रहरीका अनुसार परिवारलाई जानकारी नदिई किन भागेको भनेर सोध्दा दुवैको जबाफ थियो, हामी एकआपसमा प्रेम गर्छौ, विवाह गर्छौं।

यस्तो जबाफ सुनेपछि एकछिन त उनीहरूलाई खोज्न पुगेका प्रहरी अचम्ममा परे। रोहन १० र निकिता ८ कक्षाका विद्यार्थी हुन्। प्रहरीले दुवैलाई महाशाखा ल्यायो। दुवै पक्षका अभिभावकलाई राखेर कुरा गर्दा निकिता पक्षकाले केटाले जबरजस्ती लगेको भनेर कारबाही गर्न प्रहरीलाई सुझाए भने रोहन पक्षकाले दुवै एकअर्कामा प्रेम गर्ने भएकाले यो घटना अपहरण नभएको भन्दै मिलाउन सुझाए। प्रहरीले दुवैका अभिभावकलाई मनोचिकित्सकसँग काउन्सिलिङ गर्न निर्देशन दिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।

महाशाखाकी डीएसपी मीरा चौधरीका अनुसार ६ महिनायता यस्ता प्रकृति नक्कली अपहरण का आठवटा उजुरी परेका छन्। अपहरण भन्छन्, खोज्दै जाँदा केटाकेटी सँगै, अब दुवै मन मिलेर हिँडेपछि हामीले के कारबाही गर्नु, सम्झाइबुझाइ पठाउनेबाहेक अर्को विकल्प छैन उनले भनिन्।

त्यस्तै जोरपाटीकी १६ वर्षीया सबिना (नाम परिवर्तन) र १७ वर्षीय अर्जुन नेपाल परिवारलाई थाहा नदिई मनकामना पुगे। सबिनाको परिवारका सदस्य आत्तिँदै उजुरी दिन महाशाखा पुगे।

प्रहरीले मनकामनाबाटै दुवैलाई पक्राउ गरेर काठमाडौं ल्यायो। केरकार गर्दा उनीहरूले आफूहरू एकआपसमा प्रेम गर्ने भएकाले रोकटोक नगर्न परिवारलाई भने।





Comments

comments

2841