बालकलाई भारतीय प्रमाणित गर्न प्रहरीले मुचुल्कामा हस्ताक्षर गरायो, समाचार नलेख्न डिएसपीको धम्की

हिरासतमा बालकको मृत्यु
गैरकानुनी हिरासतमा नाबालकको मृत्यु भएको घटना तोडमोड गर्न प्रहरीले जनप्रतिनिधिलाई समेत प्रयोग गरेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको थुनुवा कोठामा १ वैशाखको राति ज्यान गुमाएका मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जी भारतीय भएको पुष्टि गर्न प्रहरीले राति नै जनप्रतिनिधिलाई मुचुल्कामा सही गराएको थियो।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्काले राति २:३० बजे बोलाएर झुटो विवरण भएको मुचुल्कामा सही गर्न लगाएको जनप्रतिनिधिहरूले बताएका छन् । बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन, सोही वडाका वडा सदस्य लक्ष्मी बास्कोटा र अर्जुनधारा नगरपालिका–१० का वडाध्यक्ष बलदेव गोम्देनले मुचुल्कामा हस्ताक्षर गरेका छन् । प्रहरी कार्यालय आसपासका बासिन्दालाई पनि त्यो मुचुल्कामा हस्ताक्षर गराइएको छ।

‘राति अढाई बजे गाडी लिन आयो र प्रहरी टोलीले हामीलाई इलाका प्रहरी कार्यालय लगेर सहीछाप गर्न लगायो,’ मुचुल्कामा हस्ताक्षर गरेका वडा सदस्य बास्कोटाले नयाँ पत्रिकासँग भने, ‘मृतक भारतीय नागरिक भएको र १९ वर्षको भन्दै प्रहरीले हामीलाई झुक्याएछ।’

किरणले आत्महत्या गरेको दाबी प्रहरीले गरिरहेको छ भने आफन्तले यातनाबाट उनको मृत्यु भएको बताएको छ । सहीछाप गर्न जाने जनप्रतिनिधिहरूलाई हिरासतभित्र रहेका अन्य थुनुवाले आफूहरू निदाइसकेपछि घटना भएकाले केही थाहा नभएको बताएका थिए । प्रहरीले मृतकको उमेर पनि लुकाउने प्रयास गरेको छ । ‘भारतको पानीट्यांकी बस्ने १९ वर्षीय किरण दर्जी’ लेखिएको मुचुल्कामा जनप्रतिनिधिलाई सही गर्न लगाइसकेपछि प्रहरीले सञ्चारकर्मीलाई किरण भारतीय नागरिक भएको झुटो विवरण दिन थालेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले मृतक भारतीय नागरिक भएको नयाँ पत्रिकालाई बताएका थिए।

समाचार नलेख्न डिएसपीको दबाब
गैरकानुनी हिरासतमा नाबालकको मृत्युबारे नयाँ पत्रिका दैनिकले निरन्तर समाचार प्रकाशन गरेपछि बिर्तामोडका डिएसपी सुवास खड्काले फलोअप नगर्न दबाब दिएका छन् । ‘हामीसँग किन यसरी रिसाउनुभएको ?’ नयाँ पत्रिकासँग उनले टेलिफोनमा भने, ‘यसरी नरिसाइदिनुस् न । समाचार त्यसरी किन लेखिदिनुभएको ? किन खनिनुभएको हामीमाथि ?’ तर, जनप्रतिनिधिलाई राति नै ल्याएर मुचुल्कामा सहीछाप गर्न लगाउनुको कारण सोध्दा डिएसपी खड्काले जवाफ दिन सकेनन्।





Comments

comments

28443