हङकङमा हिंसात्मक प्रदर्शन, प्रहरीद्वारा गोली प्रहार, हिंसा भडकाउने दोषीलाई १० वर्ष जेल सजाय हुने

फोटोः रोयटर्स

हङकङ। हङकङमा सुपुर्दगी सम्बन्धी प्रस्तावित कानुनको विरोधमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ।

प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली प्रहार गरेको छ।

गत आइतबार देखि प्रदर्शनकारीमा सहभागी भएका उनीहरूले सरकारी भवनहरू वरपरका मुख्य सडकहरू अवरुद्ध पारेका छन् भने प्रहरीमाथि ढुंगामुढा गरेका छन्।

सरकारले अघि बढाएको विधेयक पारित भएमा चीनमा कुनै आपराधिक गतिविधिमा संलग्न भई हङकङ गएकाहरुलाई चीनमा नै सुपुर्दगी गर्ने कानुनी बाटो खुला हुनेछ । सो विधेयक २० जुनमा हुने अन्तिम मतदानपछि पारित हुने अनुमान गरिएको छ।

यसैबीच हङकङको विधायिका परिषदले सो विधेयकमाथिको दोस्रो छलफल केही ढिलाइ गरेको छ । बेइजिङ–समर्थक विधायिका परिषदले भनेको छ, ‘बुधवार हुने भनिएको परिषदको बैठक अब पछि कुनै समयमा हुनेछ ।’ तर त्यस्तो समय निर्धारण भने गरिएको छैन।

हङकङमा दशकौंको अवधिमा प्रदर्शनकारीहरूविरुद्ध रबरको गोली प्रयोग भएको यो पहिलो घटना हो । यसअघि हङकङमा हुने हरेकजसो प्रदर्शन शान्तिपूर्ण हुने गरेका थिए।

गत आइतबारको प्रदर्शनमा पनि केही हिंसाका घटना भएको बताइएपनि यति उग्ररुप लिएको थिएन । बुधबार भएको हिंसाका क्रममा २२ जना घाइते भएको बताइएको छ । घाइते भएका सबैको अवस्था सामान्य रहेको छ।

हङकङमा सो विवादास्पद विधेयकमाथिको निर्धारित छलफल र मतदानअघि प्रदर्शनकारीहरूले सरकारी भवनहरूतर्फको आवागमन अवरुद्ध पार्ने प्रयास गरेका थिए भने हजारौं सहभागी विरोध प्रदर्शनका घटना सामान्यतया शान्तिपूर्ण नै देखिएको थियो।

तर बुधवार प्रदर्शन चर्किंदै जाँदा प्रदर्शनकारीहरूविरुद्ध अश्रुग्यास, रबरको गोली आदि प्रयोग भएको छ । प्रहरीले प्रदर्शनकारीहरूलाई घेरा तोड्न नदिनका लागि प्लाष्टिकको बारसहित कडा अवरोध खडा गरेका थिए।

अश्रुग्यास प्रहार हुनसक्ने चेतावनी सहितको ब्यानर प्रदर्शन गरेका दृश्य घटनास्थलबाट प्रत्यक्ष प्रसारण गरिरहेका समाचार च्यानलहरूले देखाएका छन्।

यद्यपि प्रदर्शनकारीहरु अझ आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनीहरुले आफूले प्रहार गर्नसक्ने सम्मको वस्तुले प्रहरीतर्फ ढुंगामुडा गरेका छन्। हङकङको विधायिका परिषद्को भवनको ढोका लगाइएको छ भने एक जना प्रहरी पनि प्रदर्शनकारीको ढुंगा प्रहारबाट घाइते भएका छन्।

प्रहरी कमिश्नर स्टिभन लो वाइ–चुंगले दंगा सिर्जना गर्ने मनसायबाट घटना भएको बताएका छन् । उनले घटनाका दोषीलाई १० वर्षको जेल सजाय हुनसक्ने समेत उल्लेख गरेका छन्।

सुपुर्दगीसम्बन्धी कानुनमा संशोधन गर्न ल्याइएको सो विधेयकका आलोचकहरूले चीनको न्याय प्रणालीमा यातना, जथाभावी थुना र जबर्जस्ती झुठो बयान दिन लगाउने जस्ता अभ्यास हुने गरेको आरोप लगाएका छन्।

हङकङ सरकारले विधेयकमा कानुनीरूपमा बाध्यकारी मानवअधिकार सम्बन्धी प्रावधानहरू र अन्य उपायहरू पनि अवलम्बन गरिने हुँदा आलोचकहरूको चिन्ताको सम्बोधन हुने प्रतिबद्धता व्यक्त गरेको छ।

यद्यपि सो विधेयकका विरुद्धमा सन् १९९७ मा बेलायतबाट हङकङ चीनको मातहतमा आए यताकै सबैभन्दा ठूला विरोध प्रदर्शन भएको छ।

नयाँ विधेयकमा हत्या र बलात्कारजस्ता अपराधका आरोपित वा संदिग्धहरूलाई मुख्यभूमि चीन, ताइवान र मकाउबाट सुपुर्दगीका लागि अनुरोध गर्न पाइने प्रावधान रहेको छ। चीनको अनुरोध आएमा प्रत्येक घटनाका आधारमा त्यस्ता सुपुर्दगी अनुरोधमाथि निर्णय गरिनेछ ।

हङकङका अधिकारीहरूले त्यहाँको अदालतले नै सुपुर्दगी अनुरोधहरूमा अन्तिम फैसला गर्ने र राजनीतिक तथा धार्मिक अपराधको आरोप लागेकाहरूलाई सुपुर्दगी नगरिने बताएका छन्।

जनतलाई आश्वस्त पार्न केही छुटको व्यवस्था गर्ने सरकारले बताएको छ । अधिकतम ७ वर्षको कैद हुने कसुरका सन्दिग्धहरूलाई मात्र सुपुर्दगी गरिने छ । हङकङले बेलायत र अमेरिकासहित २० देशसँग सुपुर्दगी सम्झौता गरेको छ। यो खबर राजधानीमा छापिएको छ।

हेर्नुहोस् भिडियोहरु

भिड तितरबितर पार्न प्रहरीले के गर्यो? हेर्नुहोस् भिडियोः

चर्कियो हङकङमा विरोधको स्वर- हेर्नुहोस् भिडियोः

भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम





Comments

comments

29890