माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको नतिजा बिहीबार सार्वजनिक भएको छ। संघीय संरचनाअनुसार गरिएको परीक्षामा कुल ४ लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी भएका थिए।
जसमा छात्रातर्फ २ लाख ३८ हजार ५ सय ५८ र छात्रतर्फ २ लाख ३६ हजार ४ सय ४५ परीक्षार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए । प्रकाशित नतिजाअनुसार सामुदायिक विद्यालयको नतिजा यसपटक पनि निकै कमजोर देखिएको छ । परीक्षामा संलग्न विद्यार्थीमा सामुदायिक विद्यालयका विद्यार्थीभन्दा निजीबाट परीक्षा दिनेमा ‘ए’ प्लस ल्याउने ५ गुणाको फरक देखिएको छ । सामुदायिक विद्यालयको कमजोर नतिजाले सरकारले शिक्षा क्षेत्रमा गरेको अर्बांैको लगानीमा गम्भीर प्रश्न चिन्ह सिर्जना भएको छ।
सार्वजनिक नतिजाअनुसार जीपीए ३.६० देखि ४ सम्म ल्याउने कुल संख्या १६ हजार ८ सय ८२ छ । यसैगरी, जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने कुल विद्यार्थी संख्या ४८ हजार ९ सय ६० छ । जीपीए २.८० देखि ३.२० सम्म ल्याउने विद्यार्थी संख्या ६० हजार ७ सय ६ छ।
त्यस्तै, जीपीए २.४० देखि २.८० सम्म ल्याउने कुल विद्यार्थी संख्या ७४ हजार १ सय १० छ । यस्तै, जीपप्ए २ देखि २.४० सम्म ल्याउने विद्यार्थी संख्या ९७ हजार २ सय ९९ छ।
यस्तै, जीपीए १.६०–२ सम्म ल्याउने विद्यार्थीको संख्या ९५ हजार २ सय ९ छ । यस्तै, जीपीए १.२० देखि १.६० ल्याउने विद्यार्थी ४३ हजार ८ सय ४० छ । ०.८० देखि १.२० जीपीए ल्याउने विद्यार्थी ४ हजार ४ सय २९ र जीपीए ०.८० भन्दा कम ल्याउने विद्यार्थीको संख्या ८ हजार २ सय ७ छ। यो खबर प्रशान्त वली र सञ्जीव दुलालले राजधानीमा लेखेका छन्।