ललितपुर: सुनसरीका दीपेन्द्र माझी र उनकी श्रीमती रसमायाका लागि ५ वर्षीय छोरी एलिसा एक्ली सन्तान हुन्।
रसमायाको ६ महिनाअघि पाठेघरको अप्रेसन गराएपछि डाक्टरले दोस्रो सन्तान जन्मिने सम्भावना कम भनेपछि माझी दम्पतीको जीवनको सहारा नै छोरी थिइन्।
तिनै छोरीको बिहीबार साढे चार बजे चापागाउँ रुटमा चल्ने बसले किचेर घटनास्थलमै मृत्यु हुँदा उनीहरूको जिउने आधार खोसिएको छ।
घटना घटेको दिन रसमाया छोरीलाई विद्यालयबाट लिएर घर फर्कन चापागाउँ दोबाटोमा बस पर्खंदै थिइन् । लगनखेलबाट यात्रु खचाखच भरिएको बा१ख ८५०१ नम्बरको बस रोक्यो । बसका सहचालक सुनिल घलान ओर्लेर यात्रु बोलाउन थाले । रसमायाले सुरुमा छोरीलाई चढाइन् । आफू चढ्न खोज्दा बस अगाडि हुइँकियो । चढ्न भ्याइनन् । अलि पर पुगेपछि छोरीबसबाट झरिन्।
गाडीको पछाडिको चक्काले टाउको किच्यो । विभत्स दृश्य सहन नसकेर रसमाया घटनास्थलमै बेहोस भइन् । प्रत्यक्षदर्शी विमला गजमेरले हतपत पाटन अस्पतालमा पुर्याइन् । राति १० बजे उनको होस खुल्यो । अहिले पनि बेला बेलामा तर्सिन्छन् । कहिले झस्किन्छन्, कहिले टोलाउँछिन् । रुने कराउने गर्छिन् । अझै राम्रोसँग होसमा छैनन्।
सुनाकोठी जैनखेलस्थित कोठामा भावविहृवल अवस्थामा भेटेकी रसमायाको सुरुवालमा अझै पनि रगत उस्तै छ । उनी भन्छिन्, ‘रोकेरको गाडीमा यात्रु चढ्दै गर्दा अचानक ड्राइभरले हुइँकायो । रोक्नुभन्दा भन्दै दौडायो । अनि दुर्घटना भयो ।’ उनका अनुसार चालकले चाहेको भए छोरीलाई बचाउन सक्थ्यो।
घटनालाई लिएर प्रहरीले चालकविरुद्धमा सवारी ज्यान मुद्दामा ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले चालकलाई कानुनअनुसार कारबाही हुने बताए । ‘घटनामा चालकको कमजोरी देखिन्छ,’ उनले भने । बस चापागाउँबासी श्रीगोपाल जोशीको नाममा छ । तर, जोशीले एक वर्ष अगाडि नै बिक्री गरिसकेको दाबी गरे । ‘नामसारी मात्र गर्न बाँकी थियो,’ उनले भने, ‘असार १० गते गर्ने योजनामा थियौं ।’ चालक स्याङ्तानले चलाएको बसले किचेर मृत्यु भएको यो पहिलो घटना होइन, ३ वर्षअघि चापागाउँमा प्युटारका एक जनालाई पनि ठक्कर दिँदा मृत्यु भएको थियो। यो कान्तिपुरमा प्रशान्त मालीले लेखेका छन्।