हङकङमा के हुंदै छ यस्तो? हङकङबासी चिन्तित बन्दै…

रगतका टाटा

न्युज डेस्क : पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, १५ जुलाई । प्रस्तावित सुपुर्दगी कानुनको विरोधबाट शुरु भएको शान्तिपूर्ण प्रदर्शन अब हिंसात्मक बन्दै गइरहंदा हङकङबासी क्रमशः चिन्तित हुन थालेका छन्।

हरेक जसो शनिवार र आइतवारका दिन विभिन्न ठाउंहरुमा सरकार र प्रहरीविरुद्ध प्रदर्शनहरु भइरहेका छन्। यसले विश्व समुदायमा हङकङको छवि धमिलिन थालेको छ।

जिउ जोगाउंन भागदौड

एशियाको प्रमुख व्यापारिक केन्द्रको रुपमा प्रख्याति कमाएको हङकङ यतिबेला मिडियाहरुमा अशान्त र असुरक्षित देखिन थालेको छ।

शेयुङ सुईमा शनिवार चिनीयाँ कारोबारीहरुको विरोधमा व्यापक प्रदर्शन भयो। प्रहरीले प्रदर्शनकारीलाई हटाउंन खोज्दा झडप भयो। त्यसमा प्रहरी र प्रदर्शनकारीमात्र घाइते भएनन्। समाचार सकंलनमा गएका पत्रकारहरुसमेत घाइते भए। प्रहरीले सञ्चारकर्मीमाथि आक्रमण गरेको भन्दै त्यसको विरोधमा आइतवार दिउंसो पत्रकार र उनीहरुका समर्थक मिलेर प्रहरी हेडक्वार्टरमै घेराबन्दी गर्यो।

प्रहरीले तितरवितर पार्दै

आइतबार साँझ सा टीनको न्यु टाउन प्लाजाभित्र प्रहरी र प्रदर्शनकारीबीच निक्कै ठूलो झडप भयो। झडपमा २८ जना घाइते भएको अस्पतालको अधिकारीले बताएका छन्। उनीहरुमध्ये दुईको अवस्था अत्यन्त नाजुक र चार जनाको अवस्था गम्भीर रहेका बताएको छ।

सोमबार बिहानसम्म अस्पतालबाट ६ जनामात्र डिस्चार्ज भएका छन् भने २२ जनाको अझै उपचार भइरहेको बताएको छ।

प्लाजामित्र भेला भएका प्रदर्शनकारी

झडपमा ११ जना प्रहरी घाइते भएका छन्। एक प्रहरीले एउटा औला गुमाएका छन्। हिजो आइतवार साँझ भएको हिंसक प्रदर्शनबाट २० पुरुष र १७ महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रदर्शनकारीहरुले प्रहरीमाथि छाता, पानीको बोट्टल र अन्य वस्तुहरूले आक्रमण गरेका थिए। प्रहरीले प्रदर्शनकारी तितरवितर पार्न लाठी चार्ज र मरिचको झोल छर्केका थिए।

जुलाई १ तारिखका दिन प्रदर्शनकारीले तोडफोड गर्दै संसद भवन कब्जामा लिएका थिए। भनिन्छ, प्रहरीले त्यतिबेला संयमता नअपनाएको भए धेरै ठूलो मानवीय क्षति हुने थियो। प्रहरी पछि हटेपछि प्रदर्शनकारीहरुले केही घण्टा हङकङको संसद भवनलाई आफ्नो कब्जामा लिएका थिए। उनीहरुले हङकङको झण्डामा कालो पोतेर बेलायतको औपनिवेशिक झण्डा टाँगेका थिए।

सरकारविरुद्ध जुलाई २१ तारिख फेरि बृहत प्रदर्शन हुने भएको छ। गत महिना भएको विरोध प्रदर्शनमा झण्डै २० लाख मानिस सहभागी भएको आयोजकको दाबी थियो।

थप समाचारहरुका लागि हामीसँग जोडिनु होस् / हामीसंगै रहनु होस्।

यसरी हटायो प्रदर्शनकारीलाई प्रहरीले। अब छातामाथि प्रतिबन्ध लाग्न पनि सक्छ।

फोटो सौजन्यः @hoccgoomusic,@phila_siu / SCMP





Comments

comments

30676