सर्वज्ञमान प्रधानाङ्गको निधन

सन्देश श्रेष्ठ / एचकेनेपाल डट कम-
पोखरा, १३ मंसिर। बरिष्ठ संगीतसाधक तथा संस्कृतिविद् सर्वज्ञमान प्रधानाङ्गको आज विहान १०१ वर्षको उमेरमा निधन भएको छ।

फाईल तस्वीर: सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

बुढ्यौलीले थलिनुभएका प्रधानाङ्गको फिष्टेल हस्पिटलमा उपचारको क्रममा आज विहान करिब ५ बजेको समयमा निधन भएको संस्कृतिविद् तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । केहीदिन अघिदेखी खाना खान छोड्नु भएका प्रधानाङ्गलाई घाँटीको समस्या पनि थपिदा स्वास्थ्य थप विग्रिदै गएको थियो।

प्रधानाङ्गको पार्थिव शरिरलाई अहिले अस्पतालबाट लगेर भैरबटोलस्थित उहाँको निवासमा लगेर राखिएको छ । प्रधानाङ्गको आजै पूर्वान्ह ११ बजे तुलसीघाटमा अन्त्येष्टी गर्ने तयारी गरिएको छ । भैरब सांस्कृतिक समितिले शवयात्राको चाँजोपाँजो मिलाउने संस्कृतिविद् तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको बैठक आज विहान आकस्मिक रुपमा बसेर शवयात्रा र अन्त्येष्टीको चाँजोपाँजो मिलाईनेछ।

स्वःप्रधानाङ्गको ३ छोराहरु कृष्णदेव, तीर्थमान र प्रकाशमान प्रधानाङ्ग र ३ छोरी हुनुहुन्छ।

स्वःप्रधानाङ्ग पोखराको सबैभन्दा पुरानो तथा निरन्तर लाग्ने शास्त्रिय संगीतज्ञ, भैरबनाचको नृत्य गुरु, भैरब संरक्षण समितिको प्रमुख सल्लाहकार, नेवा खल कास्कीका संस्थापक अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघका संस्थापक कोषाध्यक्ष, पोखरेली युवा सांस्कृतिक परिवारका सम्मानित आजिवन सदस्य हुनुहुन्छ । बरिष्ठ संगीतकर्मी तथा संस्कृतिकर्मी प्रधानाङ्गलाई रेडियो अन्नपूर्णले पोखरा रत्न २०६६ बाट सम्मान गरेको थियो । गत वर्ष प्रधानाङ्गको जन्म शताब्दीको अवसरमा पोखरा उद्योग वाणिज्य संघ, भैरव सांस्कृतिक संरक्षण समिति, पोखरेली युवा सांस्कृतिक परिवार, नेवाः खलः कास्की, संगीत प्रशिक्षण केन्द्र, हिमाली सांस्कृतिक परिवार, टोल हित समिति भैरबटोल, बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, झिंगु भाय, झिंगु संस्कृति पुचः, लायन्स क्लब अफ पोखरा भैरब सहितका दश वटा संस्थाहरुको पहलमा सामुहिक अभिनन्दन पनि गरिएको थियो।

प्रधानाङ्गले संस्कृतिकर्मीलाई सम्मान गर्ने उद्धेश्यले सर्वज्ञमान–विष्णुदेवी संस्कृति पुरस्कारको स्थापना गर्नुभएको छ । जुन पुरस्कारबाट बरिष्ठ संगीतकार फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, चेतन कार्की लगायतका बरिष्ठ संस्कृतिकर्मीहरु सम्मानित भईसक्नुभएको छ।

प्रजातन्त्रको स्थापना र पुनस्र्थापनामा निरन्तर क्रियाशिल प्रजातन्त्र सेनानी सर्वज्ञमान प्रधानाङ्ग पोखराको प्रसिद्ध भैरव नृत्यमा वाद्यवादक तथा गुरुका रुपमा निरन्तर क्रियाशिल रहनुभयो।

शास्त्रीय संगितमा गहिरो दिलचस्पी राख्ने उहां अन्तिम समयसम्म पनि भजन गायनमा सक्रिय हुनुहुन्थ्यो । जिवनमा कहिल्यै निश्कृय नहुनु भएका प्रधानाङ्ग पोखरामा शैक्षिक संस्थाहरुको स्थापना र संचालनमा समेत संलग्न हुनुभयो। एक कुशल व्यवसायी हुनुका साथै समाजमा आवश्यकता परेको बेला उदार चन्दादाताका रुपमा समेत उहाँ परिचित हुनुभयो।





Comments

comments

3081