हङकङ आन्दोलनः क्याथेका पाईलटसहित ४४ जनाविरुद्ध १० वर्ष जेल सजायको मुद्धा

हङकङ आन्दोलन

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ ३१ जुलाई। क्याथे प्यासिफिकका पाईलट, एक १६ वर्षीया किशोरीसहित ४४ जनाविरुद्ध अदालतमा मुद्धा परेको छ।

गत आइतवार शेयुन वानमा सरकारविरोधी प्रदर्शनमा गैरकानुनी ढंगले सहभागी भएको, प्रहरीमाथि आक्रमण गरेको र हतियार बोकेका जस्ता आरोप उनीहरुमाथि लागेको छ। दोषी ठहर भएमा हङकङको कानुन अनुसार उनीहरुलाई १० वर्ष जेल सजाय हुने छ।

यद्यपि, स्रोतका अनुसार पक्राउ परेका प्रदर्शनकारीलाई धरौटीमा रिहा गरिने भएको छ। पक्राउ परेकाहरुमा २८ पुरुष १६ जना महिला छन्।

उनीहरु १ हजार धरौटी तिरेर रिहा हुने छन्। यद्यपि उनीहरुले हङकङ छाड्न पाउने छैनन्। प्रत्येक हप्ता प्रहरीमा हाजिर हुनु पर्ने छ। उनीहरुमा मध्यरातिदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुने छ। घरमै बस्नु पर्ने छ।

टाईफून नं. ३ का कारण पानी र हूरीबतास चलिरहे पनि मुद्धा परेका प्रदर्शनकारीको समर्थन र आत्मबल बढाउंन बुधवार बिहानदेखि साई वान होस्थित इस्टर्न कोर्ट बाहिर हजारौं प्रदर्शनकारी भेला भएका छन्। उनीहरुले सरकार र प्रहरीको विरोधमा नाराबाजी गरिरहेका छन्।

पक्राउ परेका ४४ जना प्रदर्शनकारीको समर्थनमा मंगलवार साँझ पनि प्रदर्शन भएको थियो। क्वाई चुङ, साई वान हो र टिन सुई वाई तीन प्रहरी थानाहरुमा एकै पटक आन्दोलनकारीले घेराबन्दी गरेका थिए।

क्वाई चुङमा शंकास्पद भनिएका दुई व्यक्तिमाथि आन्दोलनकारीहरुले कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका दुबैलाई पछि प्रहरी र स्वास्थ्यकर्मीहरुले उद्धार गरेका थिए।

टिन शा वाईमा मंगलवार राति प्रदर्शनकारीलाई लक्षित गरेर फायरवर्क्स अट्याक भएको छ। प्रदर्शनकारीमाथि कारमा आएका समूहले आक्रमण गरेका थिए। आक्रमणबाट कम्तीमा ६ जना घाइते भएका छन्।

दुई महिनादेखि हङकङमा प्रस्तावित सुपुर्दगी कानुनको विरोधमा प्रदर्शन भई रहेको छ। सुपुर्दगी कानुन पारित त हुन सकेन। तर यसले सल्काएको आगोले आन्दोलनको स्वरुप लिएको छ। हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सुपुर्दगी कानुन मृत भइसकेको बताएपनि आन्दोलन रोकिएको छैन।

फोटो सौजन्यः @cnnbrk





Comments

comments

31083