हङकङमा इमरजेन्सी ल लागु, फेस मास्क लगाए १ वर्ष जेल, हङकङ भरका सबै रेल सेवा बन्द, जताततै तोडफोड, आगजनी, मारपिट, प्रहरीको गोलीबाट १४ वर्षीय किशोर गम्भीर घाइते

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ अक्टोबर । सरकारले अक्टोबर ५ तारिख बिहानदेखि लागु हुने गरी आपतकालीन नियमनकारी अध्यादेश जारी गरेको छ।

हङकङमा सुपुर्दगी कानुनको विरोध गर्दै शुरु भएको आन्दोलनमा प्रदर्शनकारीले पहिचान लुकाएर हिंसात्मक गतिविधि बढाएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले आपतकालीन नियमनकारी अध्यादेशअन्तर्गत एन्टी मास्क ल लागु गरेको हो।

यसअघि, सन् १९६७ मा बेलायतको औपनिवेशिक कालमा हङकङको सीमाभित्र भएको हिंसात्मक दंगा नियन्त्रण गर्न पहिलो पटक यस्तो कानुनको प्रयोग भएको थियो।

अब सार्वजनिक कार्यक्रमहरुमा पहिचान लुकाउने गरी फेस मास्क लगाउन सरकारले बन्देज लगाएको छ। यद्यपि धार्मिक, चिकित्सा वा मास्क लगाउनु पर्ने सम्बन्धीत कार्यक्षेत्रहरुमा भने यो कानून लागु हुने छैन।

फाइल फोटो

एन्टी मास्क ल लाई उलंघन गरेको पाइएमा उसलाई १ वर्ष जेल सजाय र २५ हजार हङकङ डलर जरिवाना हुने छ। त्यसै गरी, प्रहरीले मास्क खोल्न चाहिइएमा मास्क खोल्नु पर्ने हुन्छ। यदि मास्क खोल्न इन्कार गरेमा प्रहरीले उसलाई पक्राउ त गर्छ नै। प्रकाउ परेपछि ६ महिना जेलको सजाय र १० हजार हङकङ डलर जरिवाना लाग्ने छ। यद्यपि, यसको कार्यान्वयन गराउन निकै गाह्रो र निकै विवादास्पद हुने विश्लेषकहरूको भनाइ छ।

हङकङकी कार्यकारी प्रमुख केरी लाम र उनका टप मिनिष्टरहरुले शुक्रवार अपरान्ह पत्रकार सम्मेलनमा बोल्दै हङकङमा जारी हिंसा रोक्न यस्तो कानुन ल्याइने घोषणा गरेलगत्तै प्रदर्शनकारी झन् आक्रोशित बनेका थिए। साँझसम्म हङकङका विभिन्न ठाउंहरुमा आगो जल्न थालेको थियो।

प्रदर्शनकारीले एन्टी मास्क लको विरोध गर्दै सार्वजनिक सम्पतिहरुमा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनकारीले प्रहरी र आन्दोलनका विरोधीप्रति लक्षित गर्दै आक्रमण गर्न थालेका छन्।

फाइल फोटो

सादा पोशाकमा रहेका अफ ड्युटी पुलिस अफिसर र उनको कारमाथि प्रदर्शनकारीले युन लङमा घेराबन्दीमा पारेर आक्रमण गरेपछि आत्मरक्षाको लागि उनले गोली प्रहार गरेका छन्। गोली प्रहारबाट १४ वर्षीय किशोर गम्भीर घाइते भएका छन्। देव्रे साँप्रामा गोली लागेका उनको चुन मुन अस्पतालमा उपचार भइरहेको छ।

प्रदर्शनकारीले हङकङका विभिन्न ठाउंका चाईना बैंकहरुमा तोडफोड र आगजनी गरेका छन्। आन्दोलनलाई समर्थन नगरेको भन्दै हङकङका विभिन्न ठाउंमा खोलिएका मेक्सिमको चर्चित केक पसलहरुमा तोडफोड गरिएको छ।

एमटीआर कोर्पोशनले हङकङभर सञ्चालित सबै रेल सेवाहरु अस्थायीरुपमा बन्द गरिएको जनाएको छ। प्रदर्शनकारीले अधिकांश रेल स्टेशनहरुमा तोडफोड गरेका छन्। यसअघि, केही स्टेशनहरुमात्र तोडफोड हुंदा रातभर मर्मत गरेर विहान सञ्चालनमा ल्याइने गर्थ्यो। तर यसपटक त्यस्तो सम्भावना नभएको जनाएको छ। त्यसै, आफ्ना दुई कर्मचारीमाथि प्रदर्शनकारीबाट भएको दुर्व्यवहारबाट रेल स्टाफहरु सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेको छ।

आन्दोलनमा हिंसा भड्किदै गएपनि सरकारले नियन्त्रण गर्न नसक्दा सर्वसाधारण जनतामा चिन्ता बढेको छ।





Comments

comments

32166