आज भाइटीका, हङकङमा १२:०१ बजे भाइटीकाको शुभसाइत

भाइटीका

एचकेनेपाल डट कम संवाददाता-

१२ कार्तिक। आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ।

नेपालमा भाइटीकाको शुभसाइत बिहान ११ बजेर ५५ मिनेटमा टीका लगाउन उत्तम रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ। समितिले विश्वका विभिन्न देशमा रहेका नेपालीका लागि भाइटीकाको शुभसाइतसमेत उपलव्ध गराएको छ। हङकङमा बस्ने नेपालीले १२ बजेर १ मिनेट जाँदा भाइटीका लगाउंन शुभसाइत रहेको जनाएको छ।

भाइटीकाको शुभसाइत कहाँ कति बजे?

भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि तथा दीर्घायुको कामनासहित निधारमा सप्तरङ्गी टीका, सयपत्री र गोदावरीको माला लगाई दिइ सगुन, मिठाइ, फलफूल, ओखर, कटुसका साथै सेलरोटी दिने चलन छ। दिदीबहिनीले टिका लगाई दिएपछि दाजुभाइले गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गरिन्छ। दिदीबहिनीले टीका लगाइदिंदा बिधी अनुसार मण्डप बनाई अष्टचिरिञ्जीविको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलिने दुबो, मखमली र सयपत्री फूलको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्छन्।

सत्ययुगमा आजको दिन बहिनी यमूनाले दाजु यमराजलाई निम्ता गरी पूजाआजाका साथ विभिन्न प्रकारको खानेकुरा ख्वाएको भन्ने किवंदन्ती छ। किवंदन्तीका अनुसार यमूनाको आतिथ्यबाट खुशी भै यमूनाको इच्छा अनुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाइले परस्परमा पूजाआजा गरी इच्छासिद्धी गर्न पाउन् भने यमराजले बरदान दिएको बताइन्छ। त्यसै बेलादेखि कार्तिक शुक्ल द्धितीयका दिन भाइटीका मनाईने परम्परा बस्दै आएको बताईन्छ।





Comments

comments

32450
%d bloggers like this: