अमेरिकामा यसरी मनाइयो भाइटीका…

भाइटीका

विजय थापा –

वाशिंगटन डिसी । नेपालीहरुको दोश्रो ठूलो मुख्य चाड भाइटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन्।

नेपाल कै समय अनुसार ११ :५५ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा टिका लगाईएको छ।

चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको भाइटीका अमेरिकामा हर्सौल्लास साथ सम्पन्न भएको छ। मंगलबार कामको दिन भाइटीका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा नमिल्नेहरुले कामबाट फर्केपछि भाईटीका मनाएका छन्।

भाइटीका

अमेरिकामा दिदिबहिनी नहुनेहरु दाजुभाई नेपाल गएका छन् भने अमेरिकामा रहेका दाजुभाई भेट्न दशैँ र तिहारको लागि नेपालबाट पनि दिदिबहिनीहरु पनि अमेरिका आई दाजुभाईलाई टीका लगाई दिएका छन्।

अमेरिकाको नागरिकता प्राप्त गरेपछि आफ्ना बुवाआमा/दिदीबहिनी/दाजुभाई समेतलाई बोलाउन सकिने हुनाले अधिकांशका दाजुभाई दिदिबहिनी अमेरिकामा रहेको कारण धेरैले टीका समय मै लगाएका छन्।

नेपाली समुदायले चाडपर्वलाई नेपालमा जस्तै गरी काग तिहारदेखि नै भाइटीकासम्म ५ दिन झिलीमिली बनाएर नेपाल कै जस्तै गरि सामाग्री तयार गरि दाजुभाईलाई दिदि बहिनिले दिएका छन्।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएका छन्।

भाइटीका

टीका दिनभर लगाउन कुनै बाधा नरहेकोले समय अनुकूल पारेर कामबाट आएर साँझदेखि रातससम्म भाइटीका लगाईएको छ। अमेरिकामा विभिन्न राज्य तथा शहरहरुको समय कतै एक घण्टा ,कतै दुई घण्टा र कतै तीन घण्टाको समेत फरक भएकोले स्थानीय समय अनुसार नेपाली समुदायले भाइटीका मनाएका छन्।

यस दिन कौडा खेल्दा शुभ हुने भएकोले कतै कौडासमेत खेलेका छन् भने मनोरंजनको लागि तास पनि खेलेका छन्। नेपालबाट सानोमा अमेरिका आएका तथा अमेरिकामा जन्मेका दोस्रो पुस्ताले ईसाईहरुको मुख्य क्रिसमस (ईसाई पर्व) थ्यांक्स गिभिंग आदि बारेमा सानैदेखि जानेका र बुझेका हुन्छन्।

भाइटीका

यस्ता पर्वमा उनीहरुलाई संलग्न गराउदै नेपालीहरुका चाडपर्वको महत्व बारेमा जानकारी दिने र उनीहरुलाई अझ संलग्न गराउदै तिहार मनाउन अभिभावकहरुले ठूलो भूमिका निर्वाह गरेका छन्।

बिगत केही बर्षदेखि नेपाली समुदायको पहिलो पुस्ताले देउसी भैलो खेल्दै अमेरिकामा खोलिएका नेपाली पाठशालाका बिधार्थीहरुलाई देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य ,शहर ,टोल र गल्लि गल्लीमाहरुमा खेल्न प्रोत्साहन गरेका छन्।

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिएका छन्।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर,क़ाजु ,किसमिस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका दक्षिणा दिई सम्मान प्रकट गरेका छन्।





Comments

comments

32453