चीनमा वुहान भाइरसको संक्रमितको संख्या बढ्दै…

फोटोः टुडे वानलाईन

काठमाडौं । चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ।

सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी संक्रमित भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। नयाँ भाइरसबाट पीडित हुनेको संख्या ४१ रहेको बताइएपनि बेलायती वैज्ञानिकहरुले एक हजार सातसय भन्दा बढी संक्रमित रहेको आशंका गरेका छन्।

गत डिसेम्बरमा चीनको वुहान शहरमा देखा परेको भाइरसबाट दुई जनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन्। पछिल्लो पटक गत महिनाको अन्त्यतिर बिरामी परेका एक ६९ वर्षीया वृद्धाको मृत्यु भएको बताइएको छ।

नयाँ रोगको भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गएपछि चीनले विानस्थलमा चेकजाँचमा कडाइ गरेको बीबीसीले जनाएको छ। वुहानको अन्तर्राष्ट्रिय विमानस्थलबाट अत्याधिक मानिसले यात्रा गर्ने भएकाले संक्रमणप्रति सचेत रहेको अधिकारीहरुले जनाएका छन्।

नयाँ वर्ष मनाउनका लागि आगामी हप्ता चीन र अरु एशियाली मुलुकबाट लाखौं मानिसको चहलपहल हुने भएकाले संक्रमण थप फैलन सक्ने आशंका गरिएको छ।

वुहानको भ्रमण गरेर स्वदेश फर्किका आफ्ना केही नागरिकमा उक्त भाइरसको संक्रमण देखिएको थाइल्याण्ड र जापानले दावी गरेका छन्। चिकित्सकको टोलीले भाइरसको बारेमा अध्ययन जारी रहेको चिनियाँ अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सी फूड बिक्री हुने बजारबाट उक्त भाइरसको संक्रमण फैलिएको अधिकारीहरुले जनाएका छन्। (एजेन्सी)





Comments

comments

33519