समालोचक गणेशबहादुर प्रसाईको निधन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १९ असार। नेपाली साहित्यमा देखिएका प्रमुख प्रभावशाली समालोचकमध्येका एक गणेशबहादुर प्रसाईको विहीवार विहान झापाको वितामोडको विर्ता सिटी अस्पतालमा निधन भएको छ। मुटु र हर्नियामा समस्या देखिएपछि १२ दिनअघि उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो।

नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार राइटर पूर्णप्रसाद प्रसाई र पद्मादेवीका साहिँला छोराका रूपमा प्रसाईको जन्म १९८७ साल असार ३१ गते ताप्लेजुङको आठराई, निघुरादिनमा भएको थियो।

राजनीतिमा सक्रिय भएपछि २००५ सालमा उनी पक्राउ परेका थिए। त्यस बेला खुट्टामा नेल हालेकाले प्रसाईका कुर्कुच्चामाथि बाँचुन्जेल ठूलाठूला गाँठा रहेका देखिन्थे।

२००७ सालमा शस्त्रविहीन राजबन्दीलाई रिहा गर्ने घोषणा भएपछि उनी जेलमुक्त भएका थिए। त्यसै बेला उनी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश भए। त्यसपछि उनी झापा जिल्ला कम्युनिस्ट पार्टीका सचिव र अखिल नेपाल किसान सङ्गठनका अध्यक्ष भए। २०२८ सालमा प्रसाईले विश्वेश्वरप्रसाद कोइरालासँग बसेर पनि काम गरे। चार वर्षसम्म घनिष्ट भएर यिनीहरु २०३२ सालमा फुटेका थिए।

प्रसाईले दार्जिलिङबाट बीए पास गरे। उनी ते¥हथुमको त्रिमोहन हाईस्कुलको प्रधानाध्यापक भए। अर्को वर्ष प्रतिनिधिसभाको चुनावमा आठराई ते¥हथुमको क्षेत्र नम्बर २६ बाट स्वतन्त्र उमेदवारका रूपमा उनले निर्वाचनमा भाग लिए। चुनाव हारेपछि उनले सङ्खुवासभाको मादी हाईस्कुल, ते¥हथुमको पोखरी हाईस्कुल, इलाम हाईस्कुल र झापाको शनिश्चरे हाईस्कुलमा शिक्षकको भूमिका निर्वाह गरेका थिए। ३० वर्षको उमेरमा प्रसाईको विहे मायादेवी वस्नेतसँग भयो । यी दम्पतीबाट दुई जना छोरा जन्मे।

प्रसाईका निबन्धकृति ‘दीर्घप्रतीक्षा’ र ‘त्यो धनुकुटा’का साथै समालोचनाकृति ‘सुवानन्ददेखि राजीवलोचनसम्म’, ‘नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारा’ र माध्यामिककालीन काव्यसाहित्यको विवेचना प्रकाशित छन्। प्रसाई मुक्ति पुरस्कार, साझा पुरस्कार, महानन्द पुरस्कार, देवकोटा शताव्दी सम्मान र भानुभक्त पुरस्कारबाट सम्मानित थिए।





Comments

comments

354