बेलायतको नेपाली मन्दिरमा तेश्रो पटक चोरी

धर्मराज अधिकारी / एचकेनेपाल डट कम –
बेलायत । बेलायतको लण्डन शहरमा रहेको पशुपतिनाथ मन्दिरमा तेश्रो पटक चोरी भएको समाचार आइरहेकै बेला नेपालीहरुको जनघनत्व बढि भएको अर्को शहर अल्डरसटवासी नेपालीहरु मन्दिर बनाउन जुटेका छन्।

गत आइतबार स्थानीय शिव कल्चरल सेन्टर अल्डरशटले आगामी चार बर्षभित्रमा मन्दिर बनाउने अभियान स्वरुप विभिन्न व्यक्तिहरुसंग सहयोग संकलन कार्य शुरु गरेको छ।

शिव कल्चरल सेन्टरको तेश्रो साधारणसभाले नेपालीहरुको बढि चाप रहेको क्षेत्र अल्डरसटमा मन्दिर निर्माण गर्ने भएपछि स्थानीय व्यवसायी एवं समाजसेवीहरुले स्वतस्फुर्त सहयोग गरेका छन्। सोही दिन मात्रै करीब ८० हजार पाउण्ड रकम संकलन गरिएको प्रवक्ता जीव वेल्वासेले जानकारी दिए।

तेश्रो साधारणसभाले प्रकाश राउतको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा सुनिता जैन, महासचिबमा सूर्य उपाध्याय, सचिबमा धन क्षेत्री, कोषाध्यक्षमा गंगा अधिकारी, सहकोषाध्यक्षमा हरि भट्टराई र प्रवक्तामा जिब बेल्बासे सर्वसम्मत भएका छन। त्यस्तै अर्थ संकलन संयोजकमा भीम बांनिया, सांस्कृतिक संयोजकमा बिक्रम भट्टराई र सह संयोजकमा ईन्द्र शर्मा चयन भएका छन् । साधारणसभाले कार्यसमितिका सदस्यहरु समेत चयन गरेको छ।

सोही अवसरमा हरि बिभोर कार्की, शेर बहादुर सुनार, रमेश बा“स्तोला, रोहित गुरुङ, हितकाजी गुरुङ, गोपाल विश्वकर्मा, लगायतलाई सल्लाहकार चयन गरिएको छ।

केहीदिन अघिमात्रै लण्डन नजिकै प्लमस्टिडमा रहेको पशुपतिनाथ मन्दिरमा तेश्रो पटक चोरी भएको छ। यसपटक पनि चोरले यसअघि जस्तै मन्दिरको पछाडिपट्टिबाट शिशा फोडी चोरी गरेको अध्यक्ष होम शर्माले जानकारी दिए। अहिले पनि चोरले दान बाकसमा रहेको अन्दाजी तीनसय पाउण्ड चोरेको आशंका मन्दिर व्यवस्थपनले गरेको छ। यसअघि दान बाकसमा जम्मा भएको करीब एक हजार पाउण्ड रकम चोरी भएको जनाइएको थियो।

सोही दिन मन्दिर प्रांगणमा भेटिएका अध्यक्ष होम शर्माले मन्दिरको सीसी टिभि र कोप अलार्मलाई एक्टिभ गर्ने बचन दिएपनि अहिलेसम्म हुनसकेको छैन। तीन तीन पटकसम्म चोरी हुंदापनि सतर्कता नअपनाएको बताउंदै एकजना हाइली स्किल्ड माइग्रेण्ट्स शेखर वाग्लेले व्यवस्थापनको कमजोरीका कारण यस्तो लापर्बाही भएको आरोप लगाए। मन्दिरका एकजना ट्रष्टी पशुपति भण्डारीले मन्दिरमा चोरी हुनु अत्यन्त दुखदायी भएको बताउंदै मन्दिर व्यवस्थापनभित्र भएका कमी कमजोरीहरुलाई ब्यापक छलपल गर्ने जानकारी दिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3585