एनआरएन भवन निर्माणको लागि युरोपबाट १ करोड ५ लाख संकलन

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को काठमाडौंमा बन्न लागेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि युरोपका ४ देशमा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरुले १ करोड ५ लाख रुपैयाँ संकलन गरेका छन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको समुस्थस्थितिमा डिसेम्बर अन्तिम साता जर्मनी, बेल्जियम र स्वीटजरल्याण्डमा आयोजित कार्यक्रममा सो रकम संकलन भएको हो।

जर्मनीको फ्याङ्कर्फटमा आयोजित कार्यक्रममा सो क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले ४६ लाख रुपैयाँ संकलन गरे। यसैगरी, बेल्जियममा आयोजित कार्यक्रममा ४३ लाख रुपैयाँ संकलन भएको फण्ड रेइजिङ कमिटि युरोपकी संयोजक जानकारी गुरुङले जानकारी दिए। सोही कार्यक्रममा नेदरल्याण्डका एनआरएन प्रतिनिधिहरुले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

यसैगरी, स्वीटरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा ६ लाख रुपैयाँ संकलन भएको छ। एनआरएन अध्यक्षको यसपटकको युरोप भ्रमणका दौरान तीनवटा शहरमा आयोजित कार्यक्रमबाट कुल १ करोड ५ लाख रुपैयाँ भवन निर्माणका लागि सहयोग जुटेको गुरुङले जानकारी दिए।

गैरआवासीय नेपाली संघले करिव १५ करोड रुपैयाँ लागतमा काठमाडौमा आफ्नै कार्यालय भवन निर्माण गर्ने योजना बनाएको छ। जसका लागि अध्यक्ष घलेले बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको भावनात्मक एकताको प्रतिकस्वरुप सवैको सहभागिता हुने गरी रकम संकलन अभियान संचालन गरिरहेका छन्।

‘यसपटक युरोपमा हामीले अपेक्षा गरेभन्दा निकै उत्साहजनक सहभागिता रह्यो’ अध्यक्ष घलेले भने-‘एनआरएनको आफ्नै भवन बनाउने अभियानमा युरोपबासी नेपालीको ऐक्यबद्धता र हातेमालोप्रति म आभारी छु।’

यो अभियानमा अष्ट्रेलिया, अमेरिका, हङकङ, चीन, थाइल्याण्ड लागयतका मुलुकले सक्रियता सहभागीता जनाइसकेका छन भने युरोपका चारवटा मुलुकले पनि अध्यक्षको समुपस्थीतिमा रकम संकलन कार्यक्रम सम्पन्न भएको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका प्रवक्ता मन केसीले जानकारी दिएका छन्। प्रवक्ता केसीका अनुसार गैरआवासीय नेपाली संघले छिटै काठमाडौमा एनआरएन भवन निर्माण थाल्ने योजना बनाइरहेको छ।





Comments

comments

3620