हङकङ प्रदर्शनमा १९ घाइते, नेपाली महिलाको अवस्था गम्भीर…

Photo: @HongKongFP

पशन तमू / एचकेनेपाल डट कम-

हङकङ, २५ मे। हङकङ प्रहरी र प्रदर्शनकारीबीच आइतवार भएको झडपमा १९ जना घाइते भएका छन्।

द स्टान्डर्डले जनाए अनुसार नेपाली महिलासहित १९ जना घाइते भएका छन्। ५१ वर्षीया नेपाली महिलाको अवस्था गम्भीर रहेको जनाइएको छ।

नेपाली महिला सफाई कर्मचारी रहेको खुलेको छ। द फूड एण्ड इन्भाइरोन्मेन्टल हाइजिन डिपार्डमेन्टलाई उदृत गर्दै द स्टान्डर्डले नेपाली महिलाको अवस्था क्रिटिकल रहेको बताएको छ। उनलाई क्यानोल रोडको सार्वजनिक शौचालयमा विरामी अवस्थामा फेला परेको बताइएको छ।

नेपाली महिलाको पहिचान र उनलाई खास के भएको थियो भन्ने विवरण समाचारमा उल्लेख गरिएको छैन। तर समाचारमा नेपाली महिलाको अवस्था गम्भीर रहेको जनाएको छ।

एफईएचडीका प्रवक्ताले भनेका छन् “यस घटनाबाट हामी दु:खी भएका छौं र कामदारको सीघ्र स्वास्थ्यलाभको लागि हार्दिक निवेदन पठाएका छौं।”

उनले नेपाली महिला कार्यरत कन्ट्र्याक्टरमार्फत उनको परिवारसँग सम्पर्क गरेर भएसम्म उचित सहयोग उपलब्ध गराउने बताएका छन्।

हङकङ‌का लागि चीनले प्रस्ताव गरेको सुरक्षा कानूनको विरोधमा आइतवार दिउँसो कोजवे बे र वान चाईमा व्यापक विरोध प्रदर्शन भएको थियो।

विरोध प्रदर्शनमा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। भीड तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेका थिए। त्यस्तै वाटर क्यानोन प्रयोग गरिएको थियो।

प्रहरीले प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको थियो।





Comments

comments

36694