प्रभु… (कविता) – सुरेशजङ्ग शाह
कति आपत् आए
कति विपत आए
रोग आए
व्यथा आए
ऊ
रोकिएन
रोक्दै रोकिएन
अप्ठ्यारा आए
समस्या र आवश्यकता आए
उसको चुरीफुरी बढी नै रह्यो!
ताप बढ्यो
माग बढ्यो
जता हे-यो उसैको राप बढ्यो
कोरोना आयो
सडक सुते
सहर सुत्यो
तर
ऊ
सुत्दै सुतेन
बढिबढाउ चलिरह्यो !
दर भाउ
हरहिसाब
भइरह्यो
मोलतोल चलिरह्यो
सिङ्गो
देश चिसिएको बेला
बजार
उसको
गरम भइरह्यो !
ऊ
त
अघाएको
भोक
हो
भोक !
आँसुमा
व्यथामा
जहाँजहाँ सकस् छ
भोक
त्यहीँ त्यहीँ
मेटाउँछ ।
आवाजहरू सुन्दैन
बोलिहरू चिन्दैन
बिन्तीभाउको त
कुरै नगरौँ
मर्जी
ऊ आफै हो
भेन्डर मेसिन झैँ
नगदको स्पर्शमा मात्र
स्वचालित हुन्छ !
शान
मान
रूप
रङ्ग
उसैको
चलनचल्तीमा छ
कस्ले भन्छ ?
ऊ
भ्रस्टाचार
हो ?
प्रभु
संबोधनहरू
धेरै छन्
श्रीमान
सम्माननीय
माननीय
महोदय
हाकिम साहेव
फाँटवाला
दर्ताचलानी
सबै
वर्षौँ बुढो
झाङ्गिएको
पीपलको रूख
जराहरू चारैतिर गाडिएका
कठै
जर्जर माटो
के गरोस्
सिर्फ
होमनको वेदीमा
चरू हुन मात्र बाँकी छ
03/06/2020
संस्थापक तथा पूर्वअध्यक्ष – नेपाली साहित्य विकास परिषद् यूके (स्थापित १९९५),लण्डन
प्रधान सम्पादक- लालीगुराँस साहित्यिक पत्रिका (प्रकाशन आरम्भ १९९६), लण्डन