देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौं – आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ।

मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ। नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको छ।

जल तथा मौसम विज्ञान विभागले यही असार २५ गतेदेखि देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान गरेको छ। त्यसैगरी असार २७ देखि २९ गतेसम्म विभिन्न नदीमा उच्च बहावको सम्भावना छ । नारायणी, कन्काई, कोसी, कमला, बाग्मती, तिनाउ, पश्चिम राप्ती, बबई तथा यिनका सहायक नदीमा बहावले सतर्कता तह पार गर्ने सम्भावना औँल्याइएको छ।

फाइल फोटो

प्रदेश १ र २ तथा चुरे एवम् तराईका सबै नदीको बहावले सतर्कता तह पार गरी केही नदीमा खतराको तह आसपास पुग्ने सम्भावना रहेकाले सम्भावित उच्च जोखिम सामना गर्न पूर्वतयारीलाई प्राथमिकता दिन विभागले अनुरोध गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार बाग्मती, तिनाउ, पश्चिम राप्ती बबई र केही साना नदीमा बहाव बढ्ने क्रममा छ । तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, उदयपुर, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, काठमाडौँ, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ, पर्वत र म्याग्दीका नदीको बहाव बढ्ने क्रममा छ।

त्यस्तै, चितवन, नवलपरासी, रुपन्देही, कपिलस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, बझाङ, बाजुरा, डडेल्धुरा र आसपासका जिल्लाका नदीमा बहाव बढ्ने खतरा रहेको छ। यो समाचार गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37483