अझै फेला परेनन् बाढीपहिरोमा बेपत्ता भएका ७१ जना…

यसपालिको मनसुनजन्य विपदमा परेका ७१ जना अझै बेखबर छन्।

बाढी पहिरोमा परेर हराइरहेका उनीहरूको जीवितै उद्धार हुने सम्भावना न्यून रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। अधिकांश पहिरोमा परेर बेपत्ता भएका छन्।

वैशाखयता विपद्जन्य घटनामा परेर ३१७ जनाको मृत्यु र ७१ जना बेपत्ता भएका छन्।

उक्त घटनामा ३८८ जना घाइते भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।

कूल मृत्यु भएकामध्ये पहिरोमा मात्रै २४५ जना परेका छन्। पहिरोमा परेर ५१ जना बेपत्ता छन् भने १९० घाइते भए।

फाइल फोटो

बाढीबाट १७ को मृत्यु, २० बेपत्ता र सात घाइते भए। चट्याङबाट ५५ को मृत्यु र १९१ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले दिएको जानकारीअनुसार मनसुन सुरू भएपछि गत जेठ ३० पछि भने २८२ को मृत्यु, ७० बेपत्ता र २६६ जना घाइते भएका छन्।

त्यही बीचमा नै सबैभन्दा बढी पहिरोका घटनाले बढी मानवीय क्षति पुर्‍याएको छ।

पहिरोमा मात्रै जेठ ३० यता २४३ को मृत्यु भएको छ भने ५१ जना बेपत्ता छन्।

सोही अवधिमा बाढीबाट १४ को मृत्यु भएको र १९ बेपत्ता भएको प्राधिकरणले जनाएको छ।

पछिल्लो २४ घण्टामा मुलुकमर १८ वटा विपद्जन्य घटना भएको छ।

विभिन्न १० स्थानमा चट्याङ, तीन स्थानमा जनावरको आक्रमण, दुई स्थानमा पहिरो र एक स्थानमा बाढी आएको छ जसमा परेर दुईको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

बुधबार बिहान मुलुकका १८५ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ५३ र स्वचालित १३२) मा मापन गरिएको वर्षाको विवरणअनुसार १२० वटा केन्द्रमा वर्षा भएको छ।

उक्त केन्द्रमध्ये सबैभन्दा बढी ८६ मिलिमिटर वर्षा बाग्लुङको गल्कोट केन्द्रमा मापन गरिएको छ। मापन भएका केन्द्रमध्ये चार वटामा ५० मिलिमिटरभन्दा बढी र १२ वटा केन्द्रमा २५ मिलिमिटरभन्दा बढी वर्षा मापन भएको जनाइएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज मुलुकका अधिकांश क्षेत्रमा मौसम बदली छ।

ठाउँठाउँमा सामान्य र मध्यम वर्षा भइरहेको छ भने केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ। (रासस)





Comments

comments

38298