प्रचण्डको ‘काउण्टर’मा प्रधानमन्त्री ओलीले छुट्टै प्रस्ताव ल्याउने

काठमाडौं, मंसिर ४ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मङ्सिर १३ गते पुनः बस्नेगरी स्थगित भएको छ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को ‘काउन्टर’मा छुट्टै प्रस्ताव ल्याउने बताएपछि सचिवालय बैठक सरेको हो।

सत्ता सञ्चालन र पार्टीका आन्तरिक गतिविधिलाई लिएर पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको समयमा बुधवार नेकपाको सचिवालय बैठक बसेको थियो । बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सार्ने निर्णय पनि गरेको छ।

सचिवालयको बैठक सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे पनि अध्यक्ष प्रचण्ड र अन्य सचिवालयका सदस्यहरूले बैठक सार्न नहुने अडान लिएपछि बुधवार नै बैठक बसेको थियो । तर बुधवारको बैठकमा अध्यक्ष ओलीले आफूले पनि प्रस्ताव ल्याउने बताएपछि बैठक १० दिनपछि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

फाइल फोटो

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीभित्रको आन्तरिक विवाद लगायत सबै विषय र प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयास गरिनेछ । आगामी मङ्सिर १३ गते बस्ने बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओली दुवैका प्रस्तावमाथि छलफल हुने श्रेष्ठले जानकारी दिए।

यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएपछि ओली पक्षले प्रचण्डलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको थियो भने प्रचण्ड पक्षले फिर्ता नलिने अडान लिएपछि नेकपामा विवाद चर्किएको थियो । पार्टीभित्रको शक्ति संघर्ष बढ्दै जाँदा मंगलवार प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छुट्टाछुट्टै भेटेका थिए।

मंगलवार साँझ अध्यक्ष प्रचण्डलाई शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले प्रचण्डलाई अहिले पूर्व सहमतिअनुसार कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न र अबको १ वर्षपछि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ।





Comments

comments

39343