बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण, नयाँ भाइरस भए–नभएको पत्ता लगाउन नमुना हङकङ पठाइने

भर्खरै बेलायतबाट आएका पाँचजना नेपालीमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण देखिएको छ। यो नयाँ भाइरस हो वा होइन भन्ने पत्ता लगाउन नमुना हङकङ पठाउन लागिएको छ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ। यो पहिलेको भन्दा तीव्र संक्रमण हुने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ पुसदेखि बेलायतबाट आउने सबैलाई १० दिन क्वारेन्टिनमा बसेर पिसिआर परीक्षण गर्न आग्रह गरेको छ । १ पुसयता बेलायतबाट आएका दुई सय ७७ जनाको स्वाब संकलन गरी विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । उनीहरूमध्ये पाँचजनामा संक्रमण देखिएको हो।

यही क्रममा पिसिआर परीक्षण गर्दा पाँचजनामा कोरोना भाइरस देखिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । ‘तर, हामीले परीक्षण गर्दै आएको प्रविधिबाट पजिटिभ आएकाले यो नयाँ भाइरस होइन,’ डा. पाण्डेले भने, ‘लक्षण देखिएको, तर पजिटिभ नआएको अवस्था भएमा त्यसलाई नयाँ भाइरस हो कि भनेर शंका गर्ने थियौँ । यो पजिटिभ रिपोर्ट आएकाले बेलायतमा देखिएको नयाँ भाइरस भन्ने आधार तय भएको छैन।’

फाइल फोटो

स्वास्थ्य मन्त्रालयले भने बेलायतबाट आएका कुनै पनि नागरिकमा कोरोना पुष्टि भए त्यसको प्रजाति पत्ता लगाउन आधिकारिक प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्ने जनाएको छ । निजी प्रयोगशालामा आएको पजिटिभ नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । प्रयोगशाला स्रोतका अनुसार नयाँ भाइरस हो वा होइन भनेर पुष्टि गर्न हङकङ प्रयोगशाला पठाउन लागिएको छ।

बेलायतमा नयाँ प्रजातिको कोरोना भाइरस देखिएपछि फेरि विश्व समुदाय त्रसित बनेको छ । यो भाइरस हाल विश्वभर देखिएको कोभिड– १९ भन्दा निकै तीव्र गतिमा फैलिएको बताइएको छ । तर, यसको मृत्युदर भने न्यून छ। यो समाचार नयाँ पत्रिकाबाट साभार गरिएको हो।





Comments

comments

39809