आज तमू ल्होछार मनाईंदै…

एचकेनेपाल डट कम संवाददाता-

काठमाडौं, १५ पौष। गुरुङ समुदायको महान सांस्कृतिक पर्व तमू ल्होछार/ ल्होसार आज काठमाडौंलगायत गुरुङहरु बसोबास गर्ने विभिन्न ठाउंहरुमा मनाइँदै छ।

यद्यापि विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण ल्होछार मान्ने तरिकामा परिवर्तन भएको छ। सामाजिक दूरी कायम गरेर भए पनि केहीले ल्होछार मान्दै छन्।

नयाँ वर्षका रूपमा ल्होछार/ ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन्।

फाइल फोटो

गुरुङले आज पुस १५ गते ल्होछारका रूपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन्।

ल्हो भन्नाले वर्ष तथा छार भन्नाले नयाँ र सार भन्नाले वर्ग सार्ने भन्ने बुझाउँछ। प्रत्येक वर्ष ल्होछार/ ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ। प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मिर्गको प्रतीकका रूपमा लिइन्छ।

फाइल फोटो

यस पटक गुरुङ जातिले ल्वों ल्हो अर्थात गाई वर्गको स्वागतमा ल्होछार मनाउंदै छन्। यो पर्वलाई चीनमा विकास भएर तिब्बत हुँदै नेपाल आएको पनि बताइन्छ।

राम्रो लगाउने र मीठो खाने यो साँस्कृतिक पर्व ल्होछार नेपाललगायत चीन, हङकङ, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायतका गुरुङहरु रहेका देशहरुमा मनाइन्छ।

नेपाल सरकारले यो पर्वलाई वि.स.२०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक विदा दिन थालेको छ।

तमु ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन्। शुभकामना सन्देशमा सबै नेपालीबीच आपसी एकता, सद्भाव, धार्मिक तथा जातीय सहिष्णुता कायम भई सबैको साझा प्रयासबाट समृद्ध मुलुकको रचना गर्न सकियोस् भन्ने कामना गरिएको छ।





Comments

comments

39818
%d bloggers like this: