अब ज्यान लिने भीरमा मोटर गुड्ने…

हेटौँडा, हिउँदयामको ९ महिना सजिलै यातायात सुविधा उपभोग गर्ने मकवानपुरको दुर्गम कैलाश र राक्सिराङ गाउँपालिकाका बासिन्दाको दैनिकी बर्षायाममा कष्टकर साबित हुनेगर्छ।

राक्सिराङ गाउँपालिका ४ स्थित परेवाभीर खण्डमा पैदल हिँड्ने बाटो समेत नहुँदा वर्सेनि धेरै मानिस भीरबाट लडेर र खोलाले बगाउँदा मर्ने गर्छन् । राष्ट्रिय रुपमै चर्चा पाएको परेवाभीर खण्ड यस क्षेत्रको विकासको बाधक बनेर बसेको जनप्रतिनिधिहरुले बताउँदै आएका छन्।

मनहरी बजारबाट धादिङ जिल्लाको मलेखु जोड्ने छोटो बाटोमा पर्ने परेवाभीरको यही पिरलोलाई हल गर्न स्थानीय सरकारले गरेको प्रयास सफलता उन्मुख हुँदै गएको छ । राक्सिराङ गाउँपालिकाले चालू आर्थिक बर्षमा दुई करोड रुपियाँ बिनियोजन गरी बहुबर्षीय ठेक्का लगाएसँगै परेवाभीर खण्डमा धमाधम बलियो जगसहितको सडक निर्माणाधीन छ।

बागमती प्रदेश सरकारले परेवाभीर खण्डमा बजेट खर्च नगर्ने जनाएपछि राक्सिराङ गाउँपालिकाले बिनियोजन गरेको दुई करोड र मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सदस्य विरोध खतिवडाको पहलमा प्राप्त दुई करोड समेत गरी ठेक्का प्रक्रियामार्फत धमाधम निर्माणको काम सुरु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो।

परेवाभीर खण्ड

स्थानीय सरकारको कामलाई समेत प्रोत्साहन गर्नेगरी तत्कालीन प्रतिनिधिसभा सदस्य खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट २०७७ भदौ ९ गते सशर्त अनुदानमा अर्थ मन्त्रालयमार्फत दुई करोड रुपियाँ सो सडकका लागि व्यवस्था गर्नु भएको हो । ‘मनहरी खोलाको किनारमा जग बनाएर रडसहितको बलियो कंक्रिट पर्खाल निर्माण गरी परेवाभीरको किनारै किनारै बाटो निर्माणले गति लिएको छ’, अध्यक्ष मल्लले भन्नुभयो–‘सकेसम्म बर्षायाममा यातायात चलाउनेगरी काम अघि बढाइएको छ।’

निर्माणकर्ता ठेकेदार कम्पनीसँग १८ महिनामा सडक हस्तान्तरण गर्नेगरी सम्झौता भएको हो । राक्सिराङ गाउँपालिकाले परेवाभीर खण्डमा सडक निर्माणका लागि छ करोड ६१ लाख ६९ हजार लागत लाग्ने गरी डिपिआर निर्माण गरी ठेक्का प्रक्रिया अघि बढाएको थियो । तर उक्त खण्डमा सडक निर्माण गर्न चार करोड ३२ लाख रुपियाँ लागतमा ठेकेदार कम्पनी लामा बानियाँ जेभीले ठेक्का सकार गरी काम अघि बढाएको गाउँपालिकाले जनाएको छ । सम्झौता अनुसार परेवाभीर खण्ड ६३० मिटर लम्बाई खण्डमा बलियो कंक्रिट पर्खाल उठाएर सडक निर्माण गर्नुपर्ने छ।

पूर्वपश्चिम राजमार्गको मनहरी बजारबाट धादिङको मलेखु जोड्नका लागि मनहरी–चैनपुर–बोटबारी–परेवाभीर हुँदै ५२ किलोमिटर मात्रै दुरी पर्दछ । अधिकाँश स्थानमा ट्रयाक खुलिसके पनि परेवाभीरको अबरोधका कारण यो खण्ड सञ्चालनमा आउन सकेको छैन । परेवाभीर खण्ड निर्माण सम्पन्न हुनासाथ मनहरी–मलेखु सबारी सञ्चालन हुने अबस्था रहने कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान बताउनुहुन्छ। (गोरखापत्रमा प्रकाशित शिवकुमार काशीको रिपोर्ट)







Comments

comments

40702
%d bloggers like this: