Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरा विश्वविद्यालयको तालाबन्दी खुल्यो

एचकेनेपाल डट कम संवाददाता –
पोखरा विश्वविद्यालयले बढाइएका शुल्कहरु तत्काल लागु नगर्ने भएपछि गत माघ २२ गतेदेखि कायम तालाबन्दी खुलेको छ। योसँगै विगत एक महिनादेखि विश्वविद्यालयमा कायम विद्यार्थी संगठनहरुको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु पनि स्थगित भएको छ।

विभिन्न समयमा नेकपा एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एनेकपा माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा–माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले राखेको माग पुरा नभएका भन्दै विद्यार्थी संगठनहरु विगत केही हप्तादेखि संयक्त आन्दोलनमा थिए। शनिबार अबेर भएको सहमतिमा रिटेकको शुल्क नयाँ भर्नादेखि लागु गर्ने तथा रिटोटलिङ्गको बढाइएको शुल्क फिर्ता लिई पुरानै शुल्क यथावत लिने निर्णय गरिएको अनेरास्ववियु पोखरा विश्वविद्यालयका संयोजक सुवास मल्लले बताए।

मल्लका अनुसार केही कलेजहरुमा बढेका शुल्क तिरिसकेका विद्यार्थीहरुको हकमा भने विश्वविद्यालयमा भविष्यमा विभिन्न कामहरुका लागि तिर्नुपर्ने रकमबाट मिलान गर्ने सहमति भएको छ। बढेको शुल्क तिरिसकेका विद्यार्थीहरुले तिरेको रकम ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, रिचेकिङ्ग, रिटोटलिङ्ग आदि कार्यमा छुट पाउने समेत सहमतिमा उल्लेख गरिएको छ।

सहमतिमा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले हस्ताक्षर गरेका छन् भने आन्दोलनरत चार वटै संगठनका अलावा नवगठित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रतिनिधीको पनि हस्ताक्षर छ। सहमतिपत्रमा अनेरास्ववियुका तर्फबाट नेशन शर्मा, अखिल क्रान्तिकारी विप्लवका तर्फबाट नवराज भट्ट, अखिल क्रान्तिकारी वैद्यका तर्फबाट गजेन्द्र झा, नेवि संघका तर्फबाट स्वतन्त्र बस्नेत र एमाओवादी समर्थित अखिल क्रान्तिकारीका तर्फबाट रविन्द्र रोकाले हस्ताक्षर गरेका छन्।

सहमति पछि विद्यार्थीहरुले विश्वविद्यालय केन्द्रीय कार्यालय, लेखनाथ, सम्पर्क कार्यालय, काठमाडौं, डिन कार्यालयहरु तथा विश्वविद्यालयका सम्पूर्ण आंगिक कलेजहरु तथा काठमाडौं, पोखरा र बुटवलमा रहेका विभिन्न सम्बन्धनप्राप्त कलेजका प्रशासन तथा लेखा शाखामा लागेको तालाबन्दी खुलेको छ ।





Comments

comments

4168