सङ्क्रमणको फैलावट उच्च

केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ। सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप सचेत हुन आह्वान गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार बुधबार पुष्टि भएको सङ्ख्या अप्रत्यासित हो । बुधबार देशभर थप चार हजार ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा चार हजार ७७४ जना र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जना गरी थप चार हजार ८९७ जनामा कोरोना पुष्टि भएको हो ।

फाइल फोटो

यसअघि एक दिनमा पाँच हजार जना सङ्क्रमित भएका थिए । पहिलो लहरको कोरोना सङ्क्रमणमा विस्तारै बढेर पाँच हजारको सङ्ख्या छोएको थियो । अहिलेको सङ्ख्या केही दिनमै ह्वात्तै बढेको छ । अहिलेको सङ्ख्या वृद्धिले डराउनुपर्ने अवस्था आइसकेको बताउँदै सहप्रवक्ता डा अधिकारीले भने “कतै आईसीयू, भेन्टिलेटर र आइसोलेसन खाली छैनन् । यही अनुपातमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाने हो भने अवस्था थप जटिल हुने निश्चित छ ।”

कोरोना सङ्क्रमणले उपत्यकालाई चापमा पारेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा एक हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना गरी दुई हजार ४७ जना एकै दिन थपिएका छन् ।

थप सङ्क्रमितसँंगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार २०९ पुगेको छ । अघिल्लो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार मात्र थियो । यस्तै क्वारेन्टाइनमा ५४ जना रहेका छन् । त्यसैगरी हालसम्म १२ वटा जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित र १० वटा जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

41810