सुकेटार विमानस्थलको नामकरण परिवर्तन नगर्न आग्रह

ताप्लेजुङका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन्।

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सुकेटार विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिइएको थियो । यसपछि जिल्लावासीले यसमा असन्तुष्टि जनाउँदै आएको छन् । सामाजिक सञ्जालमा विमानस्थलको नयाँ नामकरणका नगर्न सरकारलाई सुझाव दिइएको छ।

फाइल फोटो

निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता योगेश भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, “ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्य, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । यसरी मात्र सहभागिता मूलक लोकतन्त्र बलियो हुन सक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्दछ।”

निवर्तमान पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले समाजिक सञ्चालमा नै पोष्ट गरेका छन्– “सरकार, पोखरा विमानस्थलको नामकरण रवीन्द्र अधिकारी विमानस्थल राखौँ, हामीलाई सुकेटार विमानस्थलमा नै गर्व छ । ” नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सुकेटार विमानस्थललाई स्व रवीन्द्र अधिकारी विमानस्थल र चिहान डाँडालाई आङ छिरिङ शेर्पा विमानस्थल नामकरण गरेर इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यबाट हस्तक्षेप गरेको टिप्पणी गरेका छन् । जिल्लाका राजनीति दल र सरोकारवाला समूहले सुकेटार विमानस्थलको नाम परिवर्तनका विषयमा आज छलफल गर्ने नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजय किराँतले बताए।

विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाग्रस्त भई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, चालक क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङ छिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएका थिए।





Comments

comments

Leave a Reply

42640