कालो बादल मडारिन थालेपछि…

हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प¥यो कि डर लाग्न थाल्छ। साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ।

मडारिएर कालो बादल आउन थालेपछि उनको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पु¥याउने भन्ने । “कालो मडारिएको बादल देखिएपछि डर लाग्न थाल्छ, फेरि पनि पानी पर्ने र खोला भरिने हो कि भनेर”, उनले भनिन्, “तीन दिन भयो, फेरि पनि खोला बढेर बगाउँछ भनेर सुत्न पाएका छैनौँ ।”

यही असार २ गते मेलम्ची खोलामा बाढी आउँदा उनको घर र जग्गा सबै बाढीले बगाएको थियो । साँझ ७ः०० बजे खोलामा ठूलो आवाज आयो र घरबाहिर निस्केर हेर्दा ठूलो पानी आइरहेको उनले भनिन् । त्यो खोला छिनभरिमा नै उर्लियो र राति १२ः०० बजे उनको घरजग्गा सबै बगायो । “त्यो दिन हामी घरबाट चाँडै निस्केरमात्र बाँच्न पायाँै”, नले भनिन्, “खोलामा ठूला आवाज र जमीन थरथर काम्न थालेपछि हामी बाहिर के भयो भनेर बाहिर निस्केका हौँ ।”

गत बुधबार आएको मेलम्ची नदीमा आएको पानीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका–१ को तिमु र चिउरी खर्क, वडा नं २ क्युल, वडा नं ६ चालिसेमा बढी क्षति पु¥याएको छ । पचपन्न वर्षीया ज्योति उक्तले ठाउँमा बसेको धेरै भए पनि यसरी खोलामा ढुङ्गाको आवाज आउँदै बाढी आएको र जमीन थर्किएको कहिल्यै देखेकी थिइनन् ।

यस्तै सोही ठाउँका मीनमार तामाङको पनि बगरमा रहेको घर बाढीले लग्यो । घरमा रहेको सबै बगाएपछि सपरिवार उनी डाँडामा त्रिपालमा बसेका छन् । खोला एक्कासि बढेर आउँदा आफू र छोराछोरीलाई बचाउन लाग्दा घरको केही नै जोगाउन उनले पाएनन् । “हामी आफ्नो ज्यान बचाउनका लागि माथि डाँडातिर उक्ल्याैँ, अनि हेर्दाहेर्दै खोलाले घर बगायो”, उनले भने, “आफूसँग लगाएको कपडाबाहेक घरबाट अरू केही ल्याउन पाएनौँ, घरमा रहेको सबै खोलाले बगायो ।”

यस्तै विष्णुप्रताप खड्काले पनि त्यो दिन दिउँसोदेखि नै खोलामा पानीको बहाव बढिरहेको बताए । “बत्ती गयो, खोलो करायो, गाउँका छरछिमेकी जम्मा भयौँ, खोला हे¥याँै मात्र केही गर्न सकेनौँ”, उनले स्मरण गर्दै भने, “भोलिपल्ट हेर्दा केही थिएन ।” त्यस दिन उनी भाउजूसँगै भाइको माछा फार्ममा गएका थिए । पानी बढेपछि उनी माछा फार्मदेखि भाग्न सफल भए पनि भाउजू भने सकिनन् र खोलाले बगायो ।

उनसहित पाँच दाजुभाइको ५० रोपनी जग्गा बगर र भाइको माछा फार्म पनि खोलाले खायो । भुवन दङ्गालका अनुसार जेठ मसान्तको दिनदेखि खोलाको बहाव बढिरहेको र असार २ गते ठूलो बहाव आएको हो ।

उनी घर बगाएपछि डाँडामा त्रिपालमा सुत्दै आएका छन् । दिउँसो भने आफ्नो बगाएको घर कस्तो छ भनेर हेर्न आउने गर्छन् ।

स्थानीयवासी धु्रवबहादुर श्रेष्ठले सामान्य खोलाभन्दा अहिले १० मिटर माथि बढेर आएको बताए उक्त दिन ७ः०० बजेदेखि पानीको सतह बढे पनि राति १२ः०० बजेदेखि भने लेदोसहितको बाढी आएको उनको भनाइ छ । “सामान्य खोलाभन्दा त्यस दिन एकै छिनमा १० मिटर माथि बढेर खोला आयो”, उनले भने “रातीतिर त लेदोसहितको पानी आयो, त्यसपछि मेलम्चीका ड्यामका गिट्टीसहित पानी आयो ।” उनले खोला बहाव बढ्न साथ मानिस भागेकाले मानवीय क्षति हुन नपाएको बताए ।

चनौट बजार जिल्लाको उत्तरतिरको किनमेल गर्ने बजार रहेको थियो । धेरै मानिसको किनमेल गर्न त्यहाँ आउने गर्दथे । गत बुधबार आएको मेलम्ची खोलामा आएको बाढीले बजार पूरै बगर भएको छ । बजारका अधिकांश पसल आधा डुबेका छन् भने व्यापारीले आफ्ना सामान सारेका छन् ।

स्थानीय हेलम्बु युवा समाजका सचिव रोशन दङ्गालले साँझतिर आएको बाढीमा कसैले पनि केही निकाल्न नपाएको बताए । बजार क्षेत्रका सबै घर र पसलमा ताला लगाएर मानिसहरु डाँडामा बस्ने गरेका छन् । दिउँसो भने ती व्यापारी आफ्नो सामान पसलबाट झिकेर सुरक्षित ठाउँमा राख्ने गरेका छन्।

उनले खोलाको बहाव बढिरहेकाले बजार अझै पनि असुरक्षित रहेको बताए । उनले जिल्लाकै तेस्रो ठूलो बजार क्षेत्रका रुपमा रहेका यस बजारमा यसअघि हजारौँ मानिस किनमेल गर्न आउने गरेका बताए । उनका अनुसार बाढीले बजार क्षेत्रका ५० घरमध्ये २० बगाएको र करीब रु सात अर्ब बराबरको क्षति भएको छ।





Comments

comments

Leave a Reply

43066
%d bloggers like this: