नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरीका, फेब्रुअरी २२- नेपाल सरकारले जारी गरेको हस्तलिखित पासपोर्ट आगामी नोभेम्बर २४ देखि अमान्य हुने भएपछि एमआरपी बनाउन कोही नछुटुन् भन्ने उद्धेश्यले कोलोराडोमा सकृय दुई संस्थाद्धारा संयूक्तरुपमा घरदैलो अभियान संचालन गर्न लागेका छन्।
नेपालीहरुको बाक्लो बसोबास रहेको स्टेटहरुमा छिटो र छरितो माद्यमबाट एमआरपी फारम वितरण तथा संकलन गर्न स्थानीय संघ संस्थाहरु परिचालन गर्ने नेपाली राजदुतावास र एनआरएनको नीति अनुसार हालै नेपाली घर र रकि माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्षलाई आधिकारिक पत्र प्राप्त भएपछि घर दैलो कार्यक्रम गर्न लागिएको हो।
स्थानीय ब्याक्तिहरुलाई परिचालन गरि आयोजना गरिने घरदैलो कार्यक्रम कोलोराडो स्प्रिङ्ग, भेलदेखि फुट्कलिङसम्म संचालन हुने नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठले बताएका छन्। दुवै संस्थाको पहलमा कोलोराडोस्थित विभिन्न शहरमा बसोवास गर्ने सय जना भन्दा बढि स्थानीयलाई राजदुतावास र एनआरएनले निकट भविष्यमा संचालन गर्नलागेको कार्यशालामा सहभागी गराई उनीहरुको प्रत्यक्ष सहभागीतामा घर घरमा गई सहि तरिकाबाट फर्म भराई, संकलन गरिने अध्यक्ष्य श्रेष्ठले जनाएका छन्।
नेपाल सरकारले विश्वको कुनाकुनासम्म छरिएर बसोवास गरेका नेपालीहरुले तोकिएको समयभित्र एमआरपी बनाउन नछुटुन् भन्ने उद्धेश्यले चलाएको अभियानलाई सफल पार्न संस्थाको कांधमा आएको जिम्मेवारीलाई सक्रृयताकासाथ पुरा गर्ने रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्यले बताए।
एमआरपीको लागि राजदुतावासमा पठाईएका धेरै आवेदन फारमहरु नेपाल सरकारले तोकेको ढांचा अनुसार नहुंदा धेरै नेपालीले दुख पाउने गरेको भन्दै संस्थाको सकृयतामा भरिएका फारमहरुलाई तालिम प्राप्त विशेष समितीले जांचेपछिमात्र राजदुताबास पठाईने हुंदा भरिएका कुनैपनि फारमहरु प्रकृयागत त्रुटि कारण रद्ध नहुने दुवै संस्थाले दावी गरेका छन्।