अमेरिकाको मेरिल्याण्डमा मन्दिर निर्माण गर्न १७ एकड जमिन खरिद

विजय थापा / एचकेनेपाल डट कम –

डिसी महानगर क्षेत्र । अमेरिकामा नेपाली समुदायको इतिहासमा सबै भन्दा पहिले सामुदायिक केन्द्रको जग्गा र सम्पत्ति जोड्ने ईतिहास रचेको नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी)ले मेरिल्याण्डमा अर्को सम्पत्ति जोड्न सफल भएको छ।

गत अक्टोबर ८ शुक्रबारका दिन मेरिल्याण्ड राज्यकै जर्मन टाउनमा ठूलो भवनसहित करिव १७ एकड जमिन खरिद गरेको छ । नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी) भवन तथा पशुपति बुद्ध मन्दिरमा अहिले पनि मेरिल्याण्डकै वेल्सभिलमा संचालनमा छ।

एनईसीसीले उक्त नयाँ सम्पत्तिलाई ८ लाख ७५ हजारमा खरिद गर्ने प्रस्ताव राखेको थियो । बेच्ने घर धनीले उक्त प्रस्ताव स्वीकार पनि गरेका थिए भने नगद दिने समयमा सम्झौता भन्दा २५ हजार घटाई दिएको कारण ८ लाख ५० हजार नगद बुझाईएको छ।

नेपाल शिक्षा तथा संस्कृति केन्द्रको नाममा अमेरिकाको मालपोत कार्यालयले पारित(अर्थात् पास)गरि दिएको छ। एनइसीसीको नाममा नामसारी भै सकेको छ भने भोग चलन अब एनइसीसीले गर्ने छ।

१६. ८३ एकड जमिन अर्थात् १३३ रोपनी सम्पत्ति जोड्न एनइसीसी सफल भएको छ । उक्त जग्गा र सम्पत्तिसंग जोडिएका छेउछाउका घरहरुका बजार भाउ करिव १० लाख हाराहारीमा रहेको बुझिएको छ । यसमा एनइसीसी सँस्थाका नेतृत्ववर्ग र यस परियोजनामा लागेका सम्पूर्णले केही सुलभ मुल्यमा घर र जग्गा प्राप्त गर्न सफल भएका छन्।

वर्तमान सभापति सरोज देवी प्रजापतिका अनुसार यो सम्पत्ति खरिद गर्न गत मे १५ देखि संस्था लागेको बताईन्। प्रजापतिले जुन ११ भन्दा अगाडि नै लगभग किन्ने तयारी स्वरुप धरौटी समेत बुझाईएको जानकारी गराइन्।

सभापति प्रजापतिका अनुसार गत अगस्तसम्म के के सुबिधा पाउने ,गर्न हुने र गर्न नहुने आदि ईत्यादी बारेमा गहन अध्ययन र अनुसन्धान गरेको थियो । यी सबै कुराको शुभ संकेत प्राप्त गरेपछि मात्र एनइसीसीले हात हालेको हो।

बेल्सभिल सम्पत्तिमा रहेका बुद्धको स्तुप ,डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका एक व्यक्तित्वले १० फिटको शिव मूर्ति प्रदान गर्ने प्रतिबद्धता जाहेर गरि सकेकोले उक्त मुर्ति सहित नयाँ सम्पत्तिमा ल्याइने छ।

स्मरण रहोस ,नया घर र जग्गा लिनु भन्दा अगाडि अरु जग्गा पनि हेरिएको तर एनइसीसीले आफ्नो मापदण्ड पुरा गरेपछि मात्र जग्गा प्राप्त भएको हो।

जग्गामा मन्दिर निर्माण गर्न काउन्टीको पुरातात्विक बिभाग तथा काउन्टीसंग बुझेर मन्दिर बनाउन सकिने बिषयमा छलफल गरिएको थियो । र ,मन्दिरको लागि उपयुक्त र निर्माण गर्न सकिने नियम अनुसार दिने सकिने भएपछि मात्र यो निर्णयमा पुगी जग्गा खरिद गरिएको हो।

जग्गा आफ्नो नाममा पास (पारित)गर्न एनईसीसीका पूर्व सभापति कृष्ण निरौला ,निर्वतमान सभापति खिलेन्द्र न्यौपाने र संस्थाको जग्गा किन्न संस्थाको तर्फबाट बोर्ड अफ ट्रस्टीका सभापति खिलेन्द्र न्यौपाने र सभपति सरोज प्रजापतिले हस्ताक्षर गरेका थिए

धनीपूर्जा आफ्नो हातमा आइ सकेपछि उक्त सम्पत्तिको हाताभित्र पूजा अर्चना र नरिवल फुटाइएको थियो। सानो कार्यक्रम समेत गरिएको थियो । अब जाडो महिनाको सरुवात हुने हुनाले द्रुतगतिमा उक्त सम्पत्तिमा सर सफाई अभियान सुरु गरि हाल्ने सभापति प्रजापतिले बताइन्।

यो परियोजनाका तथा मन्दिरका लागि नयाँ जमिन खरिद गर्ने कार्यमा प्रवन्ध निर्देशक अभियन्ता(ई)उमेश निरौला ,प्रज्वल रेग्मी लगायतले अहोरात्र काम गरेका छन्।

बेल्स्भिलस्थित सम्पत्ति अब बिस्तारै बिक्रि गरि उतै लगानी गरिने र अन्तत्वगत्वा जर्मन टाउन शहरमै नेपाल शिक्षा तथा संस्कृति केन्द्र(एनइसीसी)रहने छ।





Comments

comments

45699