विजय थापा। डिसी महानगर क्षेत्र । अमेरिकामा बसोबास गर्ने नेपालीले विहीबार धुमधामसँग श्रद्धाभक्तिको साथ लक्ष्मी पूजा मनाएका छन्।
अमेरिकामा भर्खर जाडो सुरु भएको र लक्ष्मी पूजा बिहिबार परेकोले शुक्रबार काममा पनि जानु पर्ने हुनाले विभिन्न राज्यहरुमा छिटै रात परेकोले धेरै जसो राज्यहरुमा लक्ष्मी पूजा सम्पन्न भै सकेको छ।
अमेरिका नेपालमा जस्तै पूजा सामग्रीहरु प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री, दियो,कलस, फलफूल, मिठाईलगायत सामग्रीहरु नेपाली समुदायले जुटाएका छन् । नेपालीहरुले आफ्ना घर आगन अगाडी र कोठाभित्र पनि बिभिन्न पक्रार र ढाचाका रंगोली बनाई घर सजाएका छन् । नेपालकै झझल्को आउने झिलीमिली बत्ती बाली घर उज्यालो परेका छन्।
अमेरिकामा अझ पनि कोरोना भाइरस महामारीको प्रभाव रहेकोले नेपाली समुदायले सावधान र सतर्कतापूर्वक मनाई रहेका छन् । कोरोना बिरुद्धको खोप सम्भवत सबै नेपालीहरुले लगाई सकेकोले गत बर्ष २०२० भन्दा केही चहलपहल बढेको र आनन्दले लक्ष्मी पूजा मनाई रहेका छन्।
आफन्त र आफ्ना परिवारबीच आवत जावत गर्न सुरु भएकोले नेपालीहरुको दोश्रो महान चाड यस बर्ष तिहार उल्लासमय हुन् सकेको छ । लक्ष्मी पूजाको दिन साँझ भएपछि ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ।
आज विशेषगरी घरका झ्याल, ढोका, कोठा,भ¥याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिएको छ । अमेरिकामा पनि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाएका छन।
अमेरिकामा आगलागीको डर हुनाले दियोमा बत्तिमा बाल्ने भन्दा मैनबत्ती बाल्ने प्रचलन भएकोले मैन बत्तिको प्रयोग ज्यादा गरेका छन्। अमेरिकामा बत्ति बल्दा घरमा जडान गरेको आगो लागेको सूचक यन्त्रले आवाज दिने हुनाले घर भित्र कम र बाहिर नै ज्यादा बालिने गरिन्छ। सोही अनुसार नेपालीहरुले मनाई रहेका छन्।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ । लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । बिगत बर्षहरुमा देउसी भैलो नजिक र साथीभाई ,आफन्तका घरमा खेलिने भएता पनि यस बर्ष पनि बिगत बर्षको झैँ कोरोना भाइरसको कारण कम खेलिएको छ।
सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित लक्ष्मी पूजाको दिन माता लक्ष्मी तथा लक्ष्मीको स्वरूप धन पैसा, गरगहनाको विशेष रूपमा पूजाआजा र अर्चना गरी लक्ष्मीकै प्रसाद स्वरूप आफ्ना कन्तुर ,सन्दुक ,सुरक्षित राखनधरण आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभ लाभ लेख्नु हाम्रो धार्मिक परम्परा रहेको छ।