जापानमा पनि भेटियो ओमिक्रोन..

जापान, कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ।

फाइल फोटो

जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित भेटिएको पुष्टि गरेका हुन् । गत आइतबार जापानको नारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन्।

अधिकारीका अनुसार ओमिक्रोनबाट सङ्क्रमित ३० वर्षीय पुरुष नामिबियाबाट जापान आएका हुन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा देखिएको घोषणा गरेको थियो।

त्यही भाइरस अहिले अन्य विभिन्न देशमा पनि देखिन थालेको छ । यसअघिको कोरोनाभाइरसभन्दा घातक यस ओमिक्रोनका कारण अहिले फेरि विश्वभरि त्रास छाएको छ।

कतिपय देशले उच्च सतर्कताका उपाय अपनाएका छन भने कतिपयले लापरवाही गरेकाले उनीरुका देशमा पनि भित्रिएको छ । जापानमा भने सतर्कता अपनाउँदा अपनाउँदै पनि ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ।

टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरुलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको थियो। जापानले नयाँ विदेशी पर्यटकलाई सीमा बन्द गरिएको जनाएको छ । यस्तो नियम अन्य देशबाट आउनेलाई पनि बढाउदै लगिने तयारी भएको थियो।

“कोरोनाभाइरसको महामारीविरुद्ध जापान सधैँ कठोररुपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडारुपमा उभिनेछ,” प्रधानमन्त्री किशिदाले भन्नुभयो।

उहाँले नयाँ भाइरसबाट जोगिन पनि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने र प्रतिबन्धात्मक व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ।

जापानमा यसअघि पनि महामारीलाई न्यूनीकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो।

अहिले पनि नयाँ भेरियन्ट ओमिक्रोन थप फैलिन नदिन र ठूलो मानवीय क्षति हुन नदिन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उच्च सतर्कता अपनाउन सबैलाई आह्वान गरेको छ।

सङ्गठनले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने चेतावनी पनि दिएको छ।

नयाँ भेरिएन्ट अफ्रिकी मुलुक बाहेक बेलायत, क्यानाडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डलगायत थुप्रै देशमा पनि देखिइसकेको डब्लुएचओले जनाएको छ।

नयाँ भेरिएन्ट पुष्टि भएपछि अमेरिका, बेलायत, युरोपेली सङ्घलगायत दर्जनौं देशले दक्षिण अफ्रिकी देशका नागरिकलाई आफ्नो देश आउन नदिने निर्णय गरिसकेका छन्।

अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ भने अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी र कामदारलाई डिसेम्बर १५ तारिखसम्मका लागि जान नपाइने गराइएको छ।

अमेरिका, बेलायतलगायतका देशमा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरण गर्न थोरै भए पनि सहयोग हुने विश्वासका साथ १८ वर्षमाथिका सबैलाई कोरोनाभाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा दिन थालिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले त घरभित्र बस्दा पनि मास्क लगाउन आह्वान गर्नुभएको छ । तर लकडाउन लगाउने कि नलगाउने भन्ने बारेमा भने स्पष्ट पार्नुभएको छैन। रासस / एएनआई

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

46954