म्यानमारकी नेतृ सुकीलाई ४ वर्ष जेल सजायको फैसला..

याङ्गुन, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराइने भएको छ।

सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरसविरुद्धको नियमहरु उलंघन गरेको आरोपमा उहाँलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो।

सुकीसँगै पूर्व राष्ट्रपति विन मिन्तलाई पनि चार वर्षे जेल सजाय तोकिएको हो । दुवै जनालाई एउटै आरोप लगाइएको छ । नोबेल पुरस्कार विजेता ७६ वर्षीय नेतृ सुकीलाई म्यानमारको सैनिकले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्दमा राखेको छ । उहाँलाई कारागार चलान गर्नु पर्ने फैसला सोमबार गरिएको भएपनि नजरबन्दबाट कारागार कहिले लैजान्छ भन्ने यकिन भने नभएको समाचारमा जनाइएको छ।

कतिपयले नजरबन्दबाट कारागार लैजानकै लागि सैनिक सरकारले अनावश्यक मुद्दा लगाएर दोषी देखाएको आरोप पनि लगाएका छन् । नेतृ सुकीलाई यो बाहेक अर्थिक अनियमितता गरेको, शक्ति र श्रोत साधनको दुरुपयोग गरेको लगायतका दर्जनौ मुद्दा सैनिक सरकारले लगाएको छ । ती मुद्दाहरुमा दोषी ठहर भएमा उहाँलाई आजिवन जेल सजाय हुनेछ । ती मुद्दाहरुमा अहिले सुनुवाइ भइरहेको छ।

तर, सुकी र उहाँका समर्थकहरुले भने राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले झुटा आरोप र मुद्दाहरु लगाएको दाबी गरेका छन् । निर्वाचित सरकार र संसदलाई समेत विघटन गरिएको घोषणा गर्दै सैनिक नेतृत्वले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएको हो । सैनिक नेतृत्वले सत्ता कब्जा गरेपछि म्यानमारमा लामो समय आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १३ सयभन्दा बढीको मृत्यु भएको थियो भने अरु कयौं घाइते भएका थिए। त्यसैगरी आन्दोलनमा सहभागी भएका मध्ये हजारौँलाई प्रहरीले गिरफ्तार गरेको छ।

तत्कालिन नवगठित संसदको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट गरेको सेनाले फेरि निर्वाचन गराउने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने दावी गरेको छ । तर, अहिलेसम्म निर्वाचनका लागि ठोस कार्य भएको देखिएको छैन भने निर्वाचन हुने वातावरण पनि बन्न सकेको छैन । सैनिकले निर्वाचित सरकार र संसदलाई विघटन गरी आफू खुशी सत्ता हातमा लिएपछि विश्वभरीबाट विरोध भएको छ भने कतिपयले सहकार्य र सहयोग पनि रोकेका छन्। रासस / एएफपी





Comments

comments

47058