हङकङ : हाईकिङ गएका दुई जनाको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ जनवरी । हाईकिङ (पैदल यात्रामा) गएका दुई जना पुरुषको आज शनिवार मृत्यु भएको छ।

आज बिहान करिब १० बजे ६ जना पैदलयात्रीहरू लान्ताउ टापुको केउङ शान कन्ट्री ट्रेलमा पैदल यात्राका लागि प्रस्थान गरेका थिए। उनीहरूको फिनिक्स ट्रेलबाट ताई ओसम्म पुग्ने योजना थियो।

तर दिउँसो १२.१० बजे उक्त समूह लिङ वुई शान पुग्दा एक ६५ वर्षीय पुरुष अचानक बेहोस भए। उनका साथीहरूले तुरुन्तै प्रहरीलाई बोलाए र सरकारी उडान सेवा हेलिकप्टरबाट इस्टर्न जिल्ला अस्पताल पुर्‍याइयो। तर उद्धारपछि उनको मृत्यु भएको थियो।

उनी उच्च रक्तचापबाट पीडित भएको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र पोस्टमार्टमपछि मृत्युको कारण थाहा हुने जनाइएको छ।

त्यसैगरी, आज दिउंसो ४.२७ बजे एक व्यक्ति स्टेनलीको विल्सन ट्रेल, चुङ होम कोकको पहिलो खण्डमा एक्लै पैदल यात्रामा गएका थिए। उनी बाटोमा एक्कासी बेहोस लडेको अन्य पदयात्रीले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। घटनास्थलमा हेलिकप्टर पुगेर उनलाई अस्पताल लगिएको थियो। दुर्भाग्यवश, अस्पताल पुगेपछि उनको मृत्यु भएको पुष्टि भयो। प्रहरीले घटनाबारे उनको परिवारसँग सम्पर्क गरेको जनाइएको छ।

.

.

.





Comments

comments

47878