हङकङमा थपिए ७ सङ्क्रमित, ४ स्थानीय र ३ आयातित.., ताई पो र चेउङ शा वान दुई ठाउंमा लकडाउन

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार कोभिड-१९ को नयाँ ७ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

संक्रमित केसहरूमध्ये ३ आयातित र ४ स्थानीय रहेका छन्। यससंगै, हङकङमा हालसम्म १३ हजार ४८ जनामा संक्रमण देखिएको छ।

स्थानीय ४ मध्ये ३ केस आयातितसंग सम्बन्धित रहेका छन्। उनीहरु तीन जनाका परिवारका सदस्य रहेका छन्। जुन यसअघि पोजेटिभ पुष्टि भएका थिए।

तिनीहरूमध्ये एक नर्थ प्वाइन्टको किआङ्सु-चेकियाङ कलेजमा अध्ययन गर्ने १७ वर्षीय छात्र, एक कजवे बेको हेनेसी रोड सरकारी प्राथमिक विद्यालयमा पढ्ने ११ वर्षीया छात्रा र अर्को एक परिवारको ४६ वर्षीया विदेशी घरेलु कामदार रहेकी छन्।

त्यसैगरी, संक्रमणको स्रोत नखुलेको स्थानीय डेल्टा भेरियन्ट केस कजवे बेको जार्डिन बजारस्थित लिटिल बोस पेट सपमा काम गर्ने २३ वर्षीया महिला कर्मचारी छिन्। उनी एबरडीनको ४ टुङ सिंग रोडका बासिन्दा हुन्।

आज २० भन्दा कम प्रारम्भिक केसहरू दर्ज भएका छन्। तिमध्ये पाकिस्तानबाट हङकङ आएकी ४३ वर्षीया महिलाका परिवारका सदस्य र साथीहरु गरी ९ जनाको प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएको जनाइएको छ। उनी याउ मा तेइस्थित सिलका सीभ्यू होटलको १२ औं तल्लामा क्वारेन्टिनमा रहंदामा हिजो आइतवार कोरोना पोजेटिभ पुष्टि भएको थियो। उनलाई क्वारेन्टिनमै अर्को कोठामा रहेका ७१ वर्षीय पुरुषबाट संक्रमण भएको विश्वास गरिएको छ।

हङकङमा कोरोना सङ्क्रमित ३ सय ७६ जनाको उपचार भइरहेको छ। थप १२ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

ताई पो र चेउङ शा वान दुई ठाउंमा लकडाउन

दुईवटा ब्लकमा प्रारम्भिक केसहरु फेला परेपछि ताइ पो र चेउङ शा वानमा सोमबार लकडाउन गरी त्यहाँ बसोबास गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन सरकारले आग्रह गरेको छ।

  • Kui Wo House, Tai Wo Estate, Tai Po
  • Po Wah Court, 450-464 Un Chau Street, Cheung Sha Wan

कुइ वो हाउसमा डिसेम्बर २८, २०२१ देखि १७ जनवरी, २०२२ सम्म दुई घण्टाभन्दा बढी समय बसेका र पो वाह कोर्टमा जनवरी १० देखि १७ जनवरीसम्म दुई घण्टाभन्दा बढी समय बसेका व्यक्तिहरुले पनि बुधबारसम्म भाइरस परीक्षण गर्नुपर्ने जनाएको छ।

….





Comments

comments

47917