न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १३ फेब्रुअरी । हङकङले आइतबार १ हजार ३४७ पुष्टि भएका केसहरू थपेको छ। त्यसै गरी, झण्डै २ हजार प्रारम्भिक केसहरू पुष्टि भएका छन्।
सेन्टर फर हेल्थ प्रोटेक्शनले कोभिड-१९ को १ हजार ३४७ केस दर्ज भएको जानकारी दिएको छ।
सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले २ मात्र आयातित केस र १३४५ स्थानीय केसहरू पुष्टि भएको जानकारी दिइन्। डा चुआङका अनुसार सम्भवतः १२८३ केसहरू ओमिक्रोन र १४ केसहरू डेल्टा भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्। आज पनि झण्डै २ हजार प्रारम्भिक केसहरू पुष्टि भएका छन्।
डा चुआङका अनुसार प्रत्येक दुई दिनमा केसहरू दोब्बर बढेका छन्।
अस्पताल प्राधिकरणले अस्पतालको बेड बालबालिका, वृद्धवृद्धा र सिकिस्त बिरामीलाई मात्र उपलव्ध हुने जनाएको छ। अस्पतालले स्वस्थ, जवान र कम लक्षण देखाएका व्यक्तिहरूलाई घरमै बसेर पर्खन भनेका छ। अस्पताल प्राधिकरणले फोनमा सहयोग उपलब्ध हुने बताउंदै अस्पतालको कोठा र ओछ्यानहरू आवश्यक परेकाहरूका लागि छोड्न आग्रह गरेको छ।
यसैबीच, अहिले तीन हजार ४०० बिरामी अस्पतालमा भर्ना भएका छन्। जसमध्ये तीन वर्षीया बालिकासहित चार जनाको अवस्था गम्भीर छ। बालिकालाई बाल अस्पतालको पेडियाट्रिक इन्टेन्सिभ केयर युनिटमा भर्ना गरिएको छ। यदि पुष्टि भयो भने उनी हङकङकी सबैभन्दा कान्छी कोरोना संक्रमित बिरामी बन्नेछिन्। जसको अवस्था गम्भीर छ। २ दिनअघि ४ वर्षीय बालकको पोक ओइ अस्पतालमा मृत्यु भएको थियो। उनमा प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएको थियो।