युक्रेन सङ्कटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्याण्ड जाने

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्डको जानुहुने भएको छ।

-

“यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्नुहुने” ह्वाइटहाउसले जनाएको छ।

उक्त भ्रमण नेटो सहयोगीहरू, जि ७ नेताहरू र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जनाएका छन् । मार्च २५ मा राष्ट्रपति बाइडेन पोल्याण्डको वारसा पुग्नुहुने र त्यहाँ उहाँले राष्ट्रपति एन्ड्रेज डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ।

“राष्ट्रपतिले हाम्रा सहयोगी र साझेदारहरूसँगै संयुक्त राज्य अमेरिकाले कसरी प्रतिक्रिया दिन्छ भनेर छलफल गर्नुहुनेछ”, ह्वाइटहाउसले उल्लेख गरेको छ।

मार्च २३ मा बाइडेन बेल्जियमको ब्रसेल्स पुग्नुहुनेछ।मार्च २४ मा बाइडेनले युक्रेनमा रूसको अप्रत्याशित र अनुचित आक्रमणको प्रतिक्रियामा चलिरहेको प्रतिरोध र रक्षा प्रयासहरूबारे छलफल गर्न एक असाधारण नेटो शिखर सम्मेलनमा भाग लिनुहुनेछ। राष्ट्रपतिले हाम्रा नेटो सहयोगीहरू र नेटो क्षेत्रको रक्षा गर्नको लागि कडा प्रतिबद्धता जनाउनुभएको छ। रासस





Comments

comments

49305