हङकङ : दैनिक ऱ्यापिड टेस्ट नगर्ने विद्यार्थी र शिक्षकहरुले विद्यालय जान नपाउंने..!

एचकेनेपाल डट कम –

हङकङ, १२ अप्रिल । दैनिक ऱ्यापिड कोभिड टेस्ट नगर्ने हङकङका विद्यार्थी र शिक्षकहरुले विद्यालय जान नपाउंने भएका छन्।

लामो समयदेखि बन्द रहेका विद्यालयहरु इस्टर होलीडेपछि खुल्ने तयारी भइरहंदा कोभिड-१९ सम्बन्धी नयाँ नियम लागु हुने भएको हो। यसअघि, किन्डरगार्टेन, प्राथमिक, माध्यमिक र विशेष विद्यालय सुचारु गर्न कोरोना विरोधी खोप दर ९० प्रतिशत पुग्नै पर्ने नियम घोषणा भएको थियो।

शिक्षा विभाग ब्यूरोकी उपसचिव क्रिस्टीन चोईले मंगलवार ऱ्यापिड कोभिड टेस्ट नगर्ने विद्यार्थीहरूलाई विद्यालयमा फर्कन प्रतिबन्ध लगाइने जानकारी दिएकी हुन्।

कार्यकारी प्रमुख क्यारी लामले सोमबार घोषणा गरेपछि फेस टु फेस (आमनेसामने) कक्षाहरू सुचारु गर्न विद्यार्थी र शिक्षकहरूले दैनिक ऱ्यापिड कोभिड टेस्ट गर्नुपर्ने क्रिस्टीन चोईले जानकारी दिएकी हुन्।

एक रेडियो कार्यक्रममा बोल्दै चोईले स्वास्थ्य विज्ञहरुको सुझाव अनुसार यस्तो नियम लगाउंनु पर्ने बताएकी हुन्। यो तरिका अपनाउंदा आमाबाबुले झन्जट खेप्नु परे पनि हरेक बिहान बच्चाहरूको लागि ऱ्यापिड टेस्ट गर्न आवश्यक रहेको चोईले बताएकी छन्।

विद्यार्थीहरूले आफ्नो विद्यार्थी पुस्तिकामा वा तिनीहरूको फोटो खिचेर आफ्नो ऱ्यापिड टेस्टको नतिजा रेकर्ड गर्नुपर्छ। विद्यालयहरूले हरेकबिहान १० बजे स्वास्थ्य सुरक्षा केन्द्रमा विद्यार्थीहरुको रिपोर्ट पठाउंनु पर्ने बताएकी छन्।

न्यू टेरिटोरीज स्कूल हेड्स एसोसिएसनका उपाध्यक्ष चू वाइले पछिल्लो नियमले अभिभावकहरूलाई कठिनाइहरू खडा गर्ने जनाएका छन्।

चू वाइले घरमा ऱ्यापिड टेस्ट गर्न कठिनाइ हुनेलाई विद्यालयमा परीक्षण गराउन दिनु पर्ने सुझाव दिएका छन्। उनले विद्यार्थीहरूलाई नि:शुल्क ऱ्यापिड टेस्ट किटहरू उपलब्ध गराउनु पर्ने पनि बताएका छन्।

ऱ्यापिड कोभिड टेस्ट किटहरु यहाँ गएर संकलन गर्न सक्ने छन्।





Comments

comments

49835