फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान

काठमाडौँ, फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि सोमबार मतदान भइरहेको छ। यस निर्वाचनबाट नयाँ राष्ट्रपतिसँगै झण्डै १८ हजार जना चयन हुनेछन्।

एक उपराष्ट्रपति, १२ जना सिनेटर, ३ सयभन्दा बढी संसद्‍का प्रतिनिधिहरु र १७ सयभन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरु यस निर्वाचनबाट चयन हुने बताइएको छ । मतदानका लागि देशभर ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको फिलिपिन्सको निर्वाचन आयोगले जनाएको छ।

स्थानीय समयानुसार बिहान ६ बजे सुरु भएको मतदान बेलुका ७ बजेसम्म चल्ने आयोगका अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिका उम्मेदवारहरुमध्ये पूर्वराष्ट्रपति फोर्डिनान्ड मार्कोसका छोरा पूर्वसिनेटर समेत रहेका ६४ वर्षीय फोर्डिनान्ड मार्कोस जुनियर सबैभन्दा अगाडि रहेको दाबी गरिएको छ।

उनको प्रमुख प्रतिस्पर्धीको रुपमा भने वर्तमान उपराष्ट्रपति ५७ वर्षीया मारिया लओनोर रोर्बेडोलाई हेरिएको छ । फिलिपिन्सको राष्ट्रपति बन्नका लागि उनीहरू बाहेक अरु आठ जनाले पनि उम्मेदवारी दिएका छन् । आयोगका कार्यवाहक प्रवक्ता जोन रेक्स लौडियाङकोले देशभरीका सबै मतदान केन्द्रहरु आयोगको निगरानी र नियन्त्रणमै रहेको जानकारी दिए।

सबै ठाउँमा पर्याप्त सुरक्षा व्यवस्था गरिएको र अहिलेसम्म कुनै अप्रिय घटना भएको विवरण पनि प्राप्त नभएको उनको भनाइ छ । निर्वाचनका लागि ४५ हजार सैनिक, ६० हजार प्रहरी परिचालन गरिएको छ भने १२ हजार प्रहरीलाई तयारी अवस्थामा राखिएको छ।

कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, गरिबी न्युनिकरण गर्ने, रोजगारी बढाउनेलगायत विषय नै निर्वाचनका प्रमुख एजेण्डा रहेका छन्। रासस/सिन्ह्वा





Comments

comments

50464