टनेलभित्रै फस्टायो तरकारी खेती..

झापामा टनेलभित्र रायो साग फस्टाएको छ। कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन्।

सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ। तर यसको बजार माग बाह्रै महिना उच्च रहेका कारण झापाका किसानले बर्खे मौसममै आधुनिक प्रविधिबाट अर्ग्यानिक रायो साग उत्पादन गरेर लाभ लिन थालेका छन्।

पुनम कृषि फार्ममार्फत् विर्तामोड नगरपालिका–७ की पुनम तिम्सिनाले १५ दिनको अन्तरालमा एक लाख ५० हजार रुपैयाँको बर्खे रायो साग बिक्री गरेको बताइन्।

कृषि ज्ञान केन्द्र झापाले टनेल निर्माणका लागि फार्मलाई ५० प्रतिशत रकम अनुदान दिएको छ। अनुदान पाएपछि उत्साही भएर रायो सागको खेती विस्तार गरिरहेको उनले बताइन्।

बेर्ना लगाएको एक महिनामै बिक्रीका लागि तयार हुने बैमासमी रायो साग प्रतिमुठा ५० रुपैयाँका दरले बारीबाटै बिक्री हुँदै आएको उनले बताइन्।

‘अहिले रायो सागको सिजन होइन, अरूले उत्पादन गरेका छैनन्’, उनले भने, ‘त्यही भएर महँगो दरमा बिक्री हुँदा आम्दानी धेरै भएको हो।’

तिम्सिनाले २० टनेल बनाएर रायो सागको व्यावसायिक खेती गर्दै आएकी छन्।

सुरूमा एउटा टनेल बनाएर खेती सुरू गरेकी उनले राम्रो आम्दानी भएसँगै थप २० प्लाष्टिक टनेल बनाएर सागखेती गरेको बताइन्।

मेचीनगर नगरपालिका–२ बाहुनडाँगीका खगेन्द्रबहादुर भुजेलले पनि माता कृषि फार्ममार्फत् बेमौसमी रायो सागको खेती गर्दै आएका छन्।

उनले दुई सातामा रु दुई लाखको रायो साग बिक्री गरेको बताए।

जिल्लाकै अति दुर्गमस्थलमा सागको खेती गरेका भुजेलले उत्पादन गरेको साग बिक्रीका लागि विर्तामोडस्थित कृषि थोक बजारमा पुर्‍याउने गरेको बताए। विगत नौ वर्षदेखि तरकारी खेती गर्दै आएका भुजेललाई तरकारी खेती प्रवर्द्धनका लागि टनेल निर्माणमा ज्ञान केन्द्रले रु ६ लाख १२ हजार ५० प्रतिशत अनुदान रकम प्रदान गरेको छ।

रायो सागको खेती गर्दा बाह्रैमास हुने र आम्दानी पनि राम्रो हुने हुँदा पछिल्लो समय यसको खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए।

उनले बेर्ना तयार गरेर लगाएको एक महिनामै सागले राम्रो आम्दानी दिने हुँदा केन्द्रले साना किसानलाई व्यावसायिक अग्र्यानिक तरकारी खेतीमा प्रोत्साहन गरिरहेको बताए।

टनेल निर्माणका लागि चालु आर्थिक वर्षमा २० किसानका कृषि फार्मले अनुदान पाएको उनले बताए। रासस





Comments

comments

53111
%d bloggers like this: