काठमाडौं, वैशाख ९ – जीवनको उर्जाशील समय मुलुकको प्रतिष्ठाका लागि कुस्ती खेलेर बिताएका सिरहाका एक खेलाडी हातमुख जोर्न समस्या परेपछि अहिले बालुवा चालेर जीविका चलाइरहेका छन्।
अयोध्यानगरका ५२ वर्षीय कुस्ती खेलाडी जनक यादवले आफूसहित ६ जनाको परिवार पाल्न समस्या परेपछि बालुवा चाल्न थालेका हुन्।
सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा जनकले ९० केजी तौल समूहमा स्वर्ण पदक जितेर मुलुकको प्रतिष्ठा बढाएका थिए। तीनै जनक अचेल परिवार पाल्न गाउँ नजिकैको गागन खोलामा गिट्टीबालुवा चालिरहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ।
‘साफमा स्वर्णपदक जितेर फर्केपछि जीविकाका लागि केही व्यवस्था हुन्छ कि भन्ने आशाले खेलकुद मन्त्रालय,राष्ट्रिय खेलकुद परिषद्लगायत निकायमा धेरैपटक धाएँ तर आश्वासनबाहेक केही पाइनँ,’ जनकले गुनासो गरे,‘परिषद र मन्त्रालयका पदाधिकारी आफन्तलाई जागिर लगाउन मात्र तल्लीन भए मेरो कुनै सोर्सफोर्स नभएकाले काम पाउन सकिनँ।’