यस्तो रहेछ, तीर्थयात्री बोकेको दुईतले बस दुर्घटनाको कारण

काठमाडौं, वैशाख १० – भारतीय तीर्थयात्री बोकेको दुईतले बस बुधबार बिहान ब्रेकफेलका कारण दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु भएको छ।

मंगलबारमात्र काठमाडौं आइपुगेका गुजराती तीर्थयात्रीहरू चढेको दुई बस पशुपतिनाथको दर्शन गरेर बुधबार बिहानै सुनौलीतर्फ जाने क्रममा एउटा बस नौबिसे नजिकै दुर्घटनामा परेको हो। घटनामा २८ जना घाइते भएका छन्।

मंगलबार नै काठमाडौं आइपुगेका कारण बसचालकले पर्याप्त आराम पाउन सकेका थिएनन्। उनलाई पहाडी र घुमाउदार बाटोको अनुभव पनि थिएन।
चालकले प्रारम्भिक कुराकानीमा मोटरसाइकललाई जोगाउने क्रममा अचानक ब्रेकफेल भएर दुर्घटनामा परेको बताएको सुरक्षास्रोतले जानकारी दियो।

चालक दलसहित ४५ तीर्थयात्री रहेको गुजरातको श्री हरि टुर्स एन्ड ट्राभल्सको जी जे१४एक्स ९९०० नम्बरको दुईतले बस धादिङ नौबिसेनजिकै झ्याप्लेखोलास्थित सडकबाट बिहान पौने सात बजेकरिब दुई सय मिटर तल खसेको थियो।

बस सुनौली हुँदै गोरखपुरबाट भारत जान काठमाडौंबाट हिँडेको थियो। घटनास्थलमै १४ र उपचारका क्रममा तीनको ज्यान गएको हो। राजधानीका शिवज्योति, ओम समाज र सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा तीनजना घाइतेको मृत्यु भएको थियो।

भारत सरकारले दुर्घटनाका घाइते र शव लैजान बिहीबार वायुसेनाको विशेष विमान काठमाडौं पठाउने भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले इन्डियन एयर फोर्सले घाइते र शवलाई बिहीबार काठमाडौंबाट भारत लगिने जानकारी बुधबार ट्विटमार्फत गराएका हुन्।

दुर्घटनालगत्तै उद्धारका लागि ठूलो संख्यामा काठमाडौं र धादिङबाट प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थल पुगेका थिए। सुरक्षाकर्मीले तत्काल घाइतेलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल पठाएपछि मृतकको खोजी सुरु गरेका थिए।

छरिएका शव उठाएर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज (टिचिङ) पठाइएको छ।

घाइतेहरूको राजधानीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेकामा काठमाडौंस्थित भारतीय दूतावासको पहलमा सबैलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको छ।

प्रत्यक्षदर्शी एवं उक्त ट्राभल्सका प्रतिनिधि प्रेम जी भाइले मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटनामा परेको बताए। गुजरातबाट दुईवटा बस तीर्थयात्री लिएर काठमाडौं आएका थिए। ‘फर्कने क्रममा दुईवटा बसमध्ये एउटा अगाडि र अर्को पछाडि गुडिरहेका थिए। काठमाडौंतर्फ आइरहेको मोटरसाइकललाई साइड दिने क्रममा चालकले झ्याम्प ब्रेक लगाउँदा दुर्घटना भएको हो’, भाइले भने, ‘तीर्थाटन आएका हामी सबै परिवारसहित थियौं, भगवान् पशुपतिनाथको आराधना गरेर फर्कंदा यस्तो दुर्घटना होला भन्ने कसैले पनि सोचेका थिएनौं।’ दुईवटा बसमध्ये पछाडिको बस दुर्घटनामा परेको समाचार अन्न्पूर्णपोष्टमा छ।

भाइका अनुसार मृत्यु हुनेमा अधिकांश गुजरात राज्यको सुरेन्द्रनगर जिल्लास्थित होडबाजी गाउँका किसान छन्। ‘वर्षभरि जम्मा गरेको पैसाले पशुपतिनाथको दर्शन गर्न आएका थियौं’, भाइले भने।

लामो यात्राका लागि तीर्थालुले खाना पकाउने ग्यास, चुल्हो, भाँडाकुँडा, ओढ्ने ओछ्याउने लत्ताकपडा, खाद्यान्नलगायत सामग्री बोकेर आएका थिए। बस दुर्घटनापछि ती सामानहरू यत्रतत्र छरिएका थिए। प्रहरीले ती सामान उठाएर राखेको छ।





Comments

comments

Leave a Reply

5931