भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई…

कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ।

पुरस्कार छनोट समितिको आज बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक अशोककुमार भट्टचनले जानकारी दिए।

आगामी पुस १० गते ८९ औँ भूपि जयन्तीका अवसरमा पोखरामा कार्यक्रमको आयोजना गरी साहित्यकार शेरचनलाई उक्त पुरस्कार प्रदान गरिने उनले बताए । नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशि रु ५० हजार दोसल्ला र सम्मानपत्र छ।

पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, थकाली सेवा समितिका अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन रहेका थिए । हरेक दुई–दुई वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ पुरस्कृत भइसकेका छन्।

विसं १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपि लेखनको आरम्भिक चरणमा सर्वहाराका लागि कविता लेख्दै पछि समसामयिक विषयमा सरस र व्यङ्ग्यात्मक कविता लेख्दै सशक्त कविका रुपमा स्थापित बनेका थिए । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रह (२०२५) लाई नेपाली कवितामा विशिष्ट मानिन्छ।

भूपिले सो कृतिबाट २०२६ सालको साझा पुरस्कारसमेत पाएका थिए । नारायण गोपालको स्वर र भूपिको शब्द रहेको अल्झे छ क्यारे पछ्यौरी गीत निकै चर्चित छ । परिर्वतन नाटक (२०१०), नयाँ झ्याउरे कविता (२०१०) र निर्झर कविता (२०१५) उनका प्रकाशित कृतिहरू हुन्।

पुरस्कृत हुने उषाका नजन्मेका आस्थाहरू कविता सङ्ग्रह (२०४८), अक्षरहरूका शिविरबाट मुक्तक सङ्ग्रह (२०५६), सर्वकालीन पीडा र जागृतिका शङ्खघोष कविता सङ्ग्रह २०६३, तेस्रो रङ्ग कथा सङ्ग्रह (२०७०), आँधी उपन्यास (२०७६) लगायत दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्।

उनले यसअघि व्यथित काव्य पुरस्कार २०४३, व्यथित काव्य बनिता पुरस्कार (२०६९), योगेश्वर कला सहित्य पुरस्कार (२०७०), नातिकाजी सङ्गीत पुरस्कार (२०७२), वासु शशि स्मृति वानिरा पुरस्कार (२०७८), पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७) बाट पुरस्कृत भइसकेका छन् भने रत्नश्री सुवर्ण पदक २०४०, कविता महोत्सव पदक (२०४५), वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८), विश्वनारी नेपाली साहित्य पदक (२०७१), भानुभक्त स्वर्ण पदक (२०७१) र सत्यमोहन जोशी शताब्दी पदक (२०७३) पाइसकेका छन्।

रासस





Comments

comments

63127