चिसोले मधेसका जनजीवन प्रभावित…

यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो।

विगत वर्षहरूमा मध्य पुसदेखि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर चौथो साता सुरु भएसँगै बढेको हो । पछिल्ला १० दिनयता एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो सिरेटो चल्ने क्रम नरोकिँदा गरिब बस्तीमा लाग्दो पुसमै बिचल्ली देखिँदो छ ।

चिसोको कहरले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका गरिब दलित बस्तीको अवस्था नाजुक बनेको छ । पराले झुप्राका गुजुमुज्ज बस्तीमा स–साना नानीको जाडो छल्ने सहारा सडकमा मिल्किएका चिथ्रा थाङ्ना, प्लाष्टिक र कसिङ्गर सोहोरिएर बालिने ‘घूर’ ९कसिङ्गर जम्मा पारेर बालिएको आगो० बनेको छ । न ओढ्ने, ओछ्याउने न आङ ढाक्ने लुगा १ शीतले भिजेका कसिङ्गर सल्काउँदा निस्कने पचपची धुँवाको मुस्लोभित्रको ‘घूर’ वरिपरि बसेर मनमनै तातोको अनुभूति गर्नपर्ने जिन्दगी यहाँका मुसहर, बाँतर, मेस्तर, डोम, चमार र दुसाध बस्तीमा देखिन्छ ।

“यो मुटु कमाउने जाडोमा न बनीबुतो गर्न निस्कन सकिन्छ, न घरमा पानीबाहेक तताएर खाने सरदाम केही छ”, भङ्गाहा–३ सकरी बस्तीको मुसहरीटोलकी रामराजी सादा (मुसहर) भन्छन्, “ चुनाव सकियो, अब कोही हाम्रो अवस्था हेर्न आउने छैनन् ।” सो बस्तीकी अगुवा रामराजी बढ्दो चिसोका कारण दैनिक ज्यालादारी श्रम गरेर गुजारा गर्नुपर्ने आपूmहरूका लागि जाडो मौसम सधैँ कष्टदायक रहँदै आएको बताउछन् ।

महोत्तरीको मध्य र दक्षिणी भेगमा त मङ्सिर तेस्रो साताको अन्त्यदेखि नै बिहान हुस्सुले ढाक्दै आएको छ । मध्याह्नसम्म घाम देखिँदैन । त्यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि चाँडै जाडोको कहर बढेको हो । जिल्लाको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर मङ्सिर निगल्दोसम्म बिहानै घाम देखिए पनि पुस लागेयता भने यो भेगमा पनि एकाबिहानैदेखि डम्म हुस्सुले ढाक्दै आएको छ ।

बाक्लो हुस्सुसँगैको चिसो सिरेटो चल्ने क्रमले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा निस्कन नसकिएको यहाँका सर्वसाधारण बताउँछन् । मध्य र दक्षिणी भेगमा त मङ्सिर तेस्रो साताको अन्त्यदेखि नै एकाबिहानैदेखि बाक्लो हुस्सुले ढाक्दै आएको छ । मध्याह्नपछि देखिने घाम पनि मधुरो हुँदा यसपालि चाँडै जाडोले करामत देखाएको जलेश्वर नगरपालिका–२ का सामाजिक कार्यकर्ता जिरेखन पासवान बताउछन् ।

एक्कासी बदलिएको मौसमले ब्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन् । अहिले नै यस्तो बिजोग भएपछि अब माघसम्म कस्तो होला ? भन्ने सोचेर नै यहाँका बूढापाका जाडो कसरी काट्ने भन्ने चिन्तामा छन् । “खै उमेरले भर्खर ६० नाघियो, मङ्सिरदेखि नै यसरी लगलगी कमाउने जाडो त यसअघि त्यति भोगेको सम्झनै छैन”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका ६१ वर्षीय किसान सत्यनारायण यादवले भने, “खै बितेका दुई वर्षको कोरोना (कोभिड–१९) कहरले चाँडै जाडो बढाएको त हैन ?” पोहोर र परारको कोरोना कहर सम्झँदै उनले लख काट्नुभयो ।

बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था बनेको छ । “जाडो त सबैलाई हो ता नि, हुनेखाने जाडोबाट बच्ने सरजाम (बन्दोबस्त) घरमै जुटाउलान् , हामी बनी (मजदुरी) गरेर गुजारा गर्नेको चैँ के हविगत हुने हो अब”, जिल्लाको बलवा नगरपालिका–१० को मुसहरीटोलका पलट माझी मुसहरले चिन्ता व्यक्त गर्नुभयो ।

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र स–साना नानीहरूको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घरवरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् । जिल्लाका सबैजसो स्वास्थ्य संस्था रुघाखोकी, श्वासप्रश्वास र हाडजोर्नी दुख्ने व्यथाका बिरामीले भरिभराउ देखिँदा छन् । “बढ्दो चिसोले ग्रमीण बस्तीमा बिरामी हुने क्रम निकै बढेको छ, अस्पताल आएका बिरामीलाई सेवा दिन हामीलाई भ्याइनभ्याइ परेजस्तै छ”, बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीले भने ।

यसैबीच जिल्लाका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार–सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर ‘घूर’ नबाल्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउछन् ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् ।

यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवीप्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ ।

रासस





Comments

comments

63380