एनआरएन चीनबाट डेढ करोड राहत संकलन

सुशील बेलबासे / एचकेनेपाल डट कम –
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन) चीनले गत अप्रिल २५ मा नेपालमा गएको शक्तिशाली भूकम्पबाट पीडितहरुको सहयोगका लागि झण्डै एक हप्तामा डेढ करोड संकलन भइसकेको जानकारी एनआरएन चीनका कोषाध्यक्ष रोहित अग्रवालले गराउनुभएको छ।

संकलित रकमबाट यस संस्थाले एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन)को सहकार्यमा तत्कालिन तथा दिर्घकालिन गरी दुइ चरणमा राहत वितरण गर्ने निर्णय गरीएको छ। तत्कालिन राहतका लागि चीनले एनआरएन काठमाण्डौ सचिवालयलाई पचासलाख भन्दा धेरैको राहत सामाग्री पठाइसकेको छ। यसैगरी बाँकी एक करोड रुपैया भने एनआरएन सचिवालयकै सहकार्यमा भूकम्पबाट अत्यन्त प्रभावित गाउँहरुमा विद्यालय, स्वास्थ्य चौकी एवं पुनर्वासको पुनः निर्माण गर्नकालागि रकम छुट्टाइएको हो।

पहिलो चरणमा पाँच हजार दुइसय पचहत्तर वटा ब्ल्याङकेट नेपालमै खरीद गरी एनआरएन काठमाण्डौ सचिवालयलाई बुझाइयो। यसै गरी नेपालमा त्रिपालको अभाव देखिएपछि चीनबाट तत्काल एयर कार्गोबाट पठाउन सम्भव नदेखिकाले एनआरएन चीनकै पहलमा भारतको पटनाबाट दुइ हजार थान त्रिपाल नेपाल भित्रिसकेको र आज काठमाण्डौको सचिवालयमा बुझाइसकिएको छ।

यसैगरी एनआरएन चीनले ग्वाङ्गजौबाट दुइलाख वटा मास्क र १६ वटा टेन्ट आजै एयर काग्रो मार्फत काठमाण्डौ पठाइसकेको छ। एनआरएन चीन क्षेत्रीय संगठन चच्याङ्ग (इयू) बाट पनि एकलाख एघारहजार गोटा मास्क र एक हजार थान ब्ल्याङ्गकेट एयरकार्गो मार्फत र एक हजार थान त्रिपाल भारतबाट काठमाण्डौ पठाइएको छ।

संकलित रकम चीनको ग्वाङ्गजौमा २६ अप्रिलमा संजय चेतानीको अध्यक्षतामा यसै संस्थाका सल्लाहकार डिल्ली प्रसाद पराजुली (बलराम)को संयोजकत्वमा गठित भूकम्प राहत संकलन एवं ब्यवस्थापन कमिटीले ने.रु. ८२,००,०००।– (बयासी लाख), सचिव प्रदिप न्यौपानेको संयोजकत्वमा गठित कमिटीको पहलमा चीनको फुजियान प्रान्तको सिसी र चिन्च्याङ्ग सहरबाट ने.रु. ४३,००,०००।– (त्रिचालिस लाख), क्षेत्रीय संगठन चच्याङ्गका अध्यक्ष विनोद तिमल्सिनाको संयोजकत्वमा गठीत कमिटीले २४,००,०००।– (चौविस लाख) संकलन गरेको हो।

स्मरण रहोस् चीनका यी तीन शहर नेपालमा जाने सबैभन्दा बढी सामान निर्यात गर्ने मुख्य सहर हुन् र चीनमा ब्यवसाय गर्ने नेपालीको बाहुल्यता पनि यहीँ रहेको छ। यी तीन सहरमा गरी झण्डै चार सय नेपाली ब्यवसायमा संलग्न छन्।

एनआरएन चीनको तर्फबाट एनआरएन सचिवालय, काठमाण्डौसंग नियमित सम्पर्कमा रहि भूतपूर्व अध्यक्ष सुधिर प्रसाद तिमिल्सिना र सदस्य श्यामहरि सेढाइ नेपालमै राहत ब्यवस्थापन एवं वितरण कार्यमा खटिरहनु भएको छ। उहाँहरुको नेतृत्वमा नुवाकोटको खरानीटारमा सोमाबार नै राहत वितरण गरिसकिएको छ।





Comments

comments

Leave a Reply

6343