२  दशकदेखि सुकेका पानीका मूलबाट पानी आउन थाल्यो

काठमाडौं, जेठ २ – गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पसँगै काठमाडौं दक्षिणभेगमा दुई दशकदेखि सुकेका पानीका मूलबाट पूर्ववत् अवस्थामा पानी आउन थालेको छ।

भूकम्पपछि सञ्चालनमा आएका मूलमा पनि पानीको बहाब बढेको छ। सुरुका दिनमा धेरै धमिलो पानी आउने गरेका ती स्थानमा पछिल्ला दिनमा पानी सफा हुँदै जान थालेको छ।विगत केही वर्षयता पानीको बहाब निकै कम हुँदै गएको फर्पिङ्को शेषनारायणमा भूकम्पपश्चात् पानीको बहाब बढेको छ भने चाल्नाखेलमा २०५०/५१ सालदेखि सुकेका रैला, मूलपानी, खहरेलगायतका स्थानका मूलमा पानी पलाएको छ।

स्थानीयवासी एवम् चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङका अनुसार सुकिसकेका पुराना पानीका मुहानमा भूकम्पसँगै पानी आउन थालेको छ भने आसपासका अन्य पानीका स्रोतमा पनि पानीको बहाब बढेको छ। फर्पिङ्स्थित शेषनारायणमा रहेका दुई मूलमध्ये एउटा मूलमा लगभग १२ वर्षयता सुकेको मूल १२ गतेको भूकम्पपछि पूर्ववत्रुपमा सञ्चालनमा आएको छ।

स्थानीयवासीका अनुसार उक्त दिन भूकम्पसँगै माटो मिसिएको लेदोयुक्त पानीले यस अघि सुकेको शेषनारायण कुण्डपूर्ण रुपमा भरिएको थियो। उक्त दिनपछि क्रमशः पानी सफा हुँदै गएकामा २९ गतेको भूकम्पका कारण केही दिनयता अझै धमिलो पानी आइरहेको छ।

स्थानीय समाजसेवी शशी शर्मा अर्यालका अनुसार दक्षिणभेगस्थित डल्लुको नौमुल, सेतीदेवीस्थित सातमूलमा भूकम्पपछि पानीको बहाब निकै बढेको छ।

भूकम्पपछि पानीका प्राचीन मुहानमा पानी आउन थालेका कारण अचम्मित बनेका चाल्नाखेलवासीलाई पछिल्ला दिनमा छ्वाङ्डाँडाबाट लगातार ढुङ्गा खस्न थालेपछि भने थप चिन्तित बनाएको छ।

“डाँडा तल रहेको ठूलो बस्तीमा ढुङ्गा खस्न थालेपछि रातदिन ठूलै पहिरो आउँछ कि भन्ने चिन्ताले त्रसित बनाएको छ। सयौं घरहरु डाँडाको सिधैँ तल रहेका कारण वर्षात् अगावै जोखिम कम गराउने उपाय निकाल्नुपर्छ”– तामाङले भने। (रासस)





Comments

comments

Leave a Reply

6400