Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मुटु खोल्दाखोल्दै भूकम्प आएपछि…

काठमाडौ, जेष्ठ १ -गंगालाल हृदय केन्द्रका दुई वटा शल्यक्रिया कक्ष (ओटी)मै दुई बिरामीको मुटु खोलिएको थियो। बिरामीको शल्यक्रिया सकाएर हार्टलङ मेसिनबाट निकाल्ने तयारी हुँदै थियो। अर्को बिरामीको मुटु भर्खरै बन्द गराएर मुटु र फोक्सो सञ्चालन गराउने कृत्रिम सर्कुलेटर मेसिन (हार्टलङ) मा जोडिएको थियो।

शल्यक्रियामा संलग्न मुटु सर्जन डा. रवीन्द्र तिम्लाको टिम मुटुभित्रको भल्ब फेर्ने प्रक्रियामा थियो। पूरै भवन हल्लिन थाल्यो। शल्यक्रिया कक्षमा जडान गरिएका लाइट, ओटी टेबल पूरै हल्लिन थाल्यो।

मंगलबार १२:५० को शक्तिशाली धक्का आउँदा मुटुरोग उपचारका प्रमुख अस्पताल गंगालाल र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मनमोहन कार्डियोथोरासिस एवं ट्रान्सप्लान्ट सेन्टरमा चार वटा प्रमुख शल्यक्रिया जारी थियो। गंगालालमा डा. ज्योतिन्द्र शर्मा नेतृत्वको टिमले दुई वटै शल्यक्रियामा मुटुको प्रमुख शल्यक्रिया ओपन हार्ट सर्जरी गर्दै थियो। शर्मा नेतृत्वको टिमले गरेको शल्यक्रिया सकिएर मुटु नर्मल सञ्चालनको तयारी हुँदै थियो।

अर्को शल्यकक्षमा डा. तिम्लाको टिम थियो। ती बिरामीको मुटुको कृत्रिम सञ्चालनको अवस्थामा लगेर भल्ब फेर्ने क्रम चल्दै थियो। मनमोहन कार्डियोथोरासिसमा डा. भगवान कोइराला नेतृत्वको टिमले ओपन हार्ट सर्जरी गर्दै थियो भने अर्को शल्यकक्षमा डा. प्रकाश सायमीको टिम थोरासिस सर्जरीमा थियो।

मानिस जीवित रहनका लागि एक मिनेट पनि रोकिन नहुने महत्वपूर्ण अंग मुटु र फोक्सो नै कृत्रिम रुपमा सञ्चालन भइरहेको अवस्थामा भूकम्पपछि केहीबेर मात्र पनि शल्यक्रिया टोलीले साथ छोडेको भए ज्यान जाने अवस्था थियो। दुवै अस्पतालका जिम्मेवार चिकित्सकले त्यो कहालीलाग्दो क्षणलाई सामना गरेर शल्यक्रिया सक्काएका छन्।

डा. कोइरालाले बुधबार आफ्नो फेसबुक वालमा त्यो भयावह क्षण व्याख्या गर्दै लेखेका छन्, ‘भूकम्पले पाँचतले भवन हल्लिन थाल्यो। शल्यक्रिया हुँदै थियो, हाम्रो खुट्टाले टेकिरहेको थिएन, ओटीका लाइटहरु हल्लिन थाल्यो। प्यासेन्ट भुइँमा खस्न लागे। टेबल सबै हल्लियो। चेस्ट रिट्याक्टरको सहयोगले मैले बिरामीलाई खस्नबाट जोगाएँ।’

डा. शर्माका अनुसार कृत्रिम मेसिनमा जोडिरहेको मुटुलाई छोडेर गएको भए ‘मुटु चलाउन हालेका क्यनुला फुत्किएर छताछुल्ला भएर एकैछिनमा बिरामीको मृत्यु हुन सक्थ्यो,’ उनले भने, ‘भल्बहरु बाँधेका धागो फुत्किएर सबै रगत जान सक्थ्यो।’ चिकित्सकका अनुसार वयष्कमा एक मिनेटमा पाँच लिटर रगत मुटुले पम्प गर्छ। केहीबेर मात्र क्यानुलाले छाडे वा धागो खुस्किए बिरामीको ज्यान जान सक्छ, नागरिक दैनिकमा समाचार छ।

मंगलबारको पहिलो ठूलो धक्कापछि पनि क्रमिक रुपमा आएका तीन वटा धक्कामा पनि दुवै शल्यक्रिया टोलीले ओटी छोडेन। ‘दोस्रोपल्ट पनि उत्तिकै ठूलो लाग्ने धक्का आउँदाचाहिँ शल्यक्रिया कक्षमा केही नर्स रुन थाले, अन्य केही कराउन थालेका थिए, तर कसैले पनि ओटी छाडेनन्,’ डा. कोइरालाले भने।





Comments

comments

Leave a Reply

6507