हङकङ : ट्युन मुनमा एका बिहानै टेस्लाको विद्युतीय कार दुर्घटना, चालकको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, ७ जनवरी। ट्युन मुनमा आज बिहान टेस्लाको विद्युतीय कार दुर्घटना हुंदा कार चालकको मृत्यु भएको छ। गम्भीर रुपमा कुनै चोटपटक नलागेका चालकको मृत्यु भएपछि प्रहरीले व्यापकरुपमा अनुसन्धान गरिरहेको जनाइएको छ।

टेस्लाको विद्युतीय कार विहान ३:३६ बजे ट्युन मुन राजमार्गबाट काउलुनतर्फ गइरहेको थियो। चिङ् सिन स्ट्रिट नजिकैको पुलबाट बाहिर निस्किएपछि कारले नियन्त्रण गुमाउंदै ढुङ्गाको ब्यारियरमा ठोक्किएर करिब ६० मिटरसम्म चिप्लिएको थियो। कार २ ट्राफिक लेनहरू पार गरी रोकिएको थियो।

चान थरका ३८ वर्षीय पुरुष चालक एयरब्यागको साथ आफ्नो कारमा अचेत अवस्थामा फेला परेका थिए।

घटनापछि अग्नीनियन्त्रक टोलीले अचेत अवस्थामा रहेका चानलाई उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल पुर्याएका थिए।

दुर्भाग्यवश, चानलाई बिहान ४.४० बजे मृत घोषित गरिएको थियो। घटनास्थलमा प्राप्त समाचारका अनुसार दुर्घटना हुनुअघि नै चालक अचानक बेहोस भएको आशंका गरिएको छ।

घटनास्थलमा खिचिएका तस्बिरहरूले विद्युतीय कारमा सामान्य मात्रामा क्षति भएको र सडकमा टायरको निशान नरहेको देखाउँछ।

विद्युतीय कार चालकविना चलेको र नियन्त्रण गुमाएको जस्तो देखिएको जनाइएको छ। यद्यपि चालकको मृत्युको वास्तविक कारण खुल्न सकेको छैन।

घटनाको प्रत्यक्षदर्शी वा सान्दर्भिक जानकारी प्रदान गर्न सक्ने जो कोहीले 3661 3800 मा फोन गर्न प्रहरीले आग्रह गरेको छ।





Comments

comments

64653